सर्लाही, ११ श्रावन। विदेश पठाइदिने बहानामा करोडौं रुपैयाँ ठगी गर्ने गिरोहमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाहीको लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति समेत रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरूमा काभ्रेका २३ वर्षीय विशाल घिमिरे, सर्लाही लालबन्दीका २५ वर्षीय समीर सिंह र कबिलासीका २६ वर्षीय अशोक कुमार यादव छन्।
उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट समाती ठगी आरोपमा जिल्ला प्रहरी परिसर, भद्रकालीमा बुझाइएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, यी व्यक्तिहरूले अमेरिका अध्ययनका लागि जान चाहने विद्यार्थीलाई भिसा प्रक्रियामा सहयोग गर्ने भन्दै ठगी गर्दै आएका थिए।
भिसाका लागि बैंकमा देखाउनुपर्ने भन्दै एक करोड बीस लाख रुपैयाँ आवश्यक पर्छ भनेर विश्वासमा पार्ने, पैसा आफ्नै खातामा झिकाउने र त्यसपछि सम्पर्कविहीन हुने गरेका थिए। पक्राउ परेका समीर सिंह जनज्योति क्याम्पसका स्ववियु सभापति हुन्। उनी एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी निकट विद्यार्थी संगठनहरूको संयुक्त प्यानलबाट निर्वाचित भएका थिए।
यसअघि वैशाख १८ गते विशाल घिमिरेले विद्यार्थी भिसामा अमेरिका पठाइदिन्छु भन्दै ६१ लाख रुपैयाँ ठगेको उजुरी प्रहरीमा दर्ता भएको थियो। सोही उजुरीका आधारमा अनुसन्धान गर्दा थप संलग्नहरू पनि खुलेका हुन्। प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको छ भने ठगीका घटनाहरू पछिल्लो समय वैदेशिक रोजगारी र अध्ययनको नाममा बढ्दै गएका छन्।


