पर्सा,१७ श्रावण। पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित करबोलाबाट प्रहरीले ८ किलो ४४० ग्राम गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति पर्सागढी नगरपालिका–९, एकटंगाका ३४ वर्षीय जगमोहन यादव हुन्।
ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले भारततर्फ गइरहेको बीआर ०५ एजी ६८०५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा गाँजासहित यादवलाई पक्राउ गरेको हो।
गाँजा मोटरसाइकलको सिटमुनी र शरीरमा बाँधिएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।
हाल पक्राउ परेका यादवलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्न प्रहरीले चेकजाँच अभियानलाई अझ कडा बनाउने तयारी गरेको बताइएको छ।


