रौतहट,१७ श्रावण। प्रेमको सम्बन्धलाई विवाहमा परिणत गर्ने उद्देश्यले बङ्गलादेशबाट नेपाल आइपुगेकी एक विदेशी युवती अहिले गौर नगरपालिका ६ सबगढा टोलमा अप्ठ्यारो अवस्थामा परेकी छिन् । स्थानीय चिलम उर्फ शेख सफिउल्लाहका करिब २४ वर्षीय छोरा शेख मोहताब सँग प्रेम सम्बन्धमा रहेकी नुरसत जहाँ ती युवती मुस्लिम समुदायकी हुन्, युवक पनि सोही समुदायका हुन्।
प्राप्त जानकारी अनुसार उनीहरूको प्रेम सम्बन्ध सामाजिक सञ्जाल र फोन सम्पर्कमार्फत अगाडि बढेको थियो। प्रेम प्रगाढ भएपछि युवकले पहिलोपटक ती युवतीलाई नेपाल बोलाई आफ्नै घरसम्म लगेका थिए। तर त्यो बेला युवकका परिवारजनले सम्बन्ध स्वीकार गर्न मानेनन् , जसपछि युवती बङ्गलादेश फर्किएकी थिइन्।
तर प्रेममा अडिग रहेका दुवैले सम्पर्क जारी राखे। केही समयपछि युवती फेरि गौर आइपुगिन् र युवकको घरमै बस्न थालिन्। उनले खुलेर भनिन्, “म कुनै आवेगमा आएर आएको हैन, म उनलाई श्रीमान् मानिसकेकी छु। जीवनभर दुःखसुखमा साथ दिन तयार छु।” तर युवकका आमाबाबु र दाजु मुस्ताकले यो सम्बन्धलाई कडाइका साथ अस्वीकार गर्दै युवतीमाथि मानसिक यातना, गालीगलौज र कुटपिट गर्न थालेको युवतीको आरोप रहेको छ। युवकलाई समेत परिवारले घरबाट लुकाएर राखेको बुझिएको हो।
स्थिति जटिल बन्दै गएपछि १६ गते शुक्रबार औवडा नं. ६ का वडा अध्यक्ष अवध बिहारी साहको पहलमा स्थानीय समाजसेवीहरू, छिमेकीहरू र सरोकारवालाको उपस्थितिमा युवतीको व्यवस्थापनका लागि सामाजिक छलफल गरिएको हो । छलफलमा केही स्थानीयले प्रेम विवाहलाई समर्थन गर्दै युवतीलाई मानवीय आधारमा सम्मानजनक ढङ्गले हेर्नुपर्ने धारणा राखे पनि युवकको परिवार भने अझै युवतीलाई स्वीकार गर्ने मानसिकतामा नरहेको जनाइएको छ।
प्रेमका लागि देशपारिको यात्रा गरेर आएकी ती युवती अहिले स्थानीय निकाय र समाजबाट सहानुभूति र न्यायको अपेक्षा गरिरहेकी छिन् ।


