काठमाडौँ,१७ श्रावण । मकवानपुरगढी गाउँपालिका–५, बुङदोलमा एक व्यक्तिले आफ्नै श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन्। ४५ वर्षीय मानबहादुर शिवभक्तीले शनिबार बिहान ४० वर्षीया श्रीमती दुर्गालक्ष्मी शिवभक्तीको हत्या गरेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार बिहान करिब ६ बजेतिर घरमा कोही नभएको मौका छोप्दै उनले श्रीमतीको घाँटी थिचेर हत्या गरेका हुन्। हत्या पछि मानबहादुर आफैँ बिहान ८:३० बजे जिल्ला प्रहरी कार्यालय मकवानपुर पुगेर आत्मसमर्पण गरेका थिए।
प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार प्रारम्भिक बयानमा उनले श्रीमती दीर्घरोगी (प्यारालाइसिस पीडित) भएको, हिँडडुल गर्न नसक्ने अवस्थामा रहेकाले मानसिक तनावमा आएर यस्तो कदम चालेको बताएका छन्।
हाल उनी प्रहरी हिरासतमा छन् र घटनाबारे थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।


