बारा,१७ श्रावण। बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ स्थित सिर्सिया कुलोमा उद्योगबाट निस्किएको प्रदूषित पानीमा डुबेर १३ वर्षीय सन्दीप मुखियाको मृत्यु भएपछि स्थानीयवासी आक्रोशित भएका छन्। मृतककी आमा अञ्जु मुखियासहित स्थानीयले शनिबार जीतपुरसिमरा–३ स्थित गणपति र नन्दन उद्योगको गेट अगाडि बालकको शव तेर्साएर विरोध प्रदर्शन गरेका हुन्।
शुक्रबार दिउँसो सिर्सिया कुलो (बर्खि बाँध) मा डुबेर बालकको मृत्यु भएको थियो। सो कुलोमा गणपति घ्यू, नन्दन घ्यू, अशोक स्टील लगायतका उद्योगबाट प्रशोधन नगरी निस्कने रसायनयुक्त पानी बग्ने गरेको छ। नारायणी उपक्षेत्रीय अस्पताल स्रोतका अनुसार शल्य परीक्षणमा विषाक्त पानीकै कारण बालकको मृत्यु भएको पुष्टि भएको छ।
घटनापछि स्थानीयले उद्योगको लापरवाहीले निर्दोष बालकको ज्यान गएको भन्दै तीव्र आक्रोश व्यक्त गरेका छन्। उनीहरूले दोषी उद्योगमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गरेका छन्। इलाका प्रहरी कार्यालय सिमराका डीएसपी वेदप्रकाश जोशीले पीडित पक्ष, स्थानीय जनप्रतिनिधि र उद्योग प्रशासनबीच छलफल भइरहेको जानकारी दिएका छन्।
यता जीतपुरसिमरा उपमहानगरपालिकाले शनिबार उद्योगबाट प्रदूषित पानी छोड्ने ह्युमपाइप हटाएर खाल्डो डोजरले पुर्ने काम गरेको छ। यसअघि पनि नगरपालिकाले पर्खाल भत्काएर ह्युमपाइप हटाएको थियो, तर उद्योगले पुनः जडान गरेर अटेर गर्दै आएको स्थानीयले गुनासो गरेका छन्।
बारम्बार चेतावनी र कारबाहीका प्रयास गर्दा पनि सुधार नआएको भन्दै बस्तीका नागरिकहरू चिन्तित छन्। प्रदूषित पानीले न केवल मानवीय क्षति पुर्याएको छ, वातावरणमा समेत गम्भीर असर परेको स्थानीयको गुनासो छ। घटना पछि क्षेत्रको माहोल तनावग्रस्त बनेको छ।


