काठमाडौं, १७ श्रावन। उपत्यका प्रहरीले सञ्चालन गरेको ‘गुण्डा अपरेशन’ का क्रममा ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङ पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले शनिबार दिउँसो सामाखुसीस्थित घरबाटै नियन्त्रणमा लिएको हो ।
बुधबार राति ठमेलकै नगरकोट दोहोरीमा दुई गुण्डा समूहबीच झडप हुँदा ‘सानुभाइ’ का नामले चिनिने पटक्के गुण्डा युवराज गुरुङसहित तीनजना पक्राउ परेका थिए । शनिबार पक्राउ परेका क्ल्ब ओम्नियाका सञ्चालक सोही घटनासँग सम्बन्धित रहेको प्रहरी स्रोतले जनाएको छ ।
बुधबार राति नगरकोट दोहोरीबाट नुवाकोट, ककनी गाउँपालिका( ५ का युवराज गुरुङसहित नुवाकोट, सूर्यगढी नगरपालिका-२ का ३० वर्षीय रवीन्द्र गुरुङ र पाँचथर फिदिम नपा- १० का २६ वर्षीय दीलकुमार तुम्बाफो पक्राउ परेका थिए ।
२०८० साउनमा ओम्निया क्लबमा भएको झडपमा ‘सानुभाइ’ का नामले चिनिने पटक्के गुण्डा युवराज गुरुङले उक्त क्लबका सञ्चालक राजेन्द्र गुरुङमाथि आक्रमण गरेका थिए ।
प्रहरीद्वारा पक्राउ गरिएका ‘सानुभाइ’ साउन १० मा धरौटीमा रिहा भए । गत बुधबार उनै ‘सानुभाइ’ नगरकोट दोहोरीमा रहेको सूचना पाएपछि उनीमाथि आक्रमण गर्न ओम्नियाका सञ्चालक गुरुङले रवीन्द्र गुरुङ र दीलकुमार तुम्बाफोलाई पठाएका थिए ।
उनीहरू पक्राउ परेपछि बयानका क्रममा ओम्नियाका सञ्चालक गुरुङले पठाएर गएको भनेपछि उनी पक्राउ परेको प्रहरी स्रोतले जनायो ।


