
पर्सा, २० श्रावण। पर्सा प्रहरीले विशेष सूचनाका आधारमा वीरगञ्ज महानगरपालिकाबाट कटुवा पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिन्दावासीनी गाउँपालिका–५ प्रसौनीका साहेब खाँ रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रवक्ता डीएसपी किशोर लम्सालका अनुसार, वीरगञ्ज महानगरपालिका–३ इनर्वागाउँ क्षेत्रमा कटुवा पेस्तोल बोकेर हिँडिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। सो क्रममा साहेब खाँलाई पक्राउ गरी नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका खाँलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ र उनीमाथि हातहतियारसम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले अवैध हतियार ओसारपसार र प्रयोगमा संलग्नलाई कारबाही गर्दै सुरक्षा व्यवस्थामा थप कडाइ गर्ने जनाएको छ।
