
सप्तरी, २१ श्रावण। सप्तरीमा भारततर्फ तस्करी गर्न राखेको मदिरा नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । नेपाल भारत सीमा क्षेत्र सप्तरीको राजगढ गाउँपालिका-२ कमलपुरका ३५ वर्षीय लालु यादवको मृत्यु भएको हो
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतका अनुसार राति १० बजेतिर भारत निकासी गर्न ठूलो मात्रामा मदिरा भण्डारण गरिएको सूचना आएको थियो । उक्त मदिरा नियन्त्रणका लागि प्रहरी निरीक्षक वीरेन्द्रकुमार यादवको कमाण्डमा १० जना प्रहरी टोली गएको थियो । तस्करको समूहले प्रहरी टोलीमाथि आक्रमण गरेको डीएसपी बस्नेतले जानकारी दिए ।
प्रहरीले आत्मरक्षाको लागि चार राउन्ड हवाई फायर गरेको र त्यसै क्रममा एक गोली यादवको बायाँ तिघ्रामा लागेको डीएसपी बस्नेतले बताए ।
गोली लागेका यादवलाई उपचारका लागि राति साढे ११ बजे गजेन्द्र नारायणसिंह सगरमाथा अस्पतालमा पुर्याइएको थियो । उनको त्यहीँ मृत्यु भएको डीएसपी बस्नेतले बताए ।
प्रहरीले खानतलासी गरी कमलपुरबाट ८० कार्टुन मदिरा बरामद गरेको छ । त्यहाँ अरु मदिरा पनि थियो । मदिरा नियन्त्रणमा लिन खोज्दा तस्करहरुले डुङ्गामुढा लगायतले आक्रमण गरेपछि नियन्त्रणमा लिन समस्या भएको प्रहरीको भनाइ छ ।
ढुङ्गामुढाबाट दुई प्रहरी पनि घाइते भएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहले जनाएको छ ।
