ट्रान्सफर्मर चोरी गर्ने ७ जना र चोरीको सामान खरिद गर्ने ५ जनालाई पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण २२, बुधबार (६ महिना अघि)
  • ४ पटक पढिएको
ट्रान्सफर्मर चोरी गर्ने ७ जना र चोरीको सामान खरिद गर्ने ५ जनालाई पक्राउ

विराटनगर, २१ श्रावण। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले विद्युत ट्रान्सफर्मर चोरीका घटनामा संलग्न ७ जना र चोरीको सामान खरिद गर्ने ५ जनालाई पक्राउ गरी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । 

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ईश्वर कार्कीले विभिन्न मितिमा मोरङ, सुनसरी र झापा जिल्लाका विभिन्न स्थानहरूबाट विद्युतीय ट्रान्सफर्मर चोरी भएका घटना तथा चोरीमा संलग्न व्यक्तिहरू, चोरीका समान खरिद गर्ने व्यक्तिहरू र चोरी गर्न प्रयोग भएका औजार सहितको घटना विवरण सार्वजनिक गरेका हुन् ।

प्रादेशिक अपराध अनुसन्धान समूह विराटनगरको नेतृत्वमा सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरू समेतबाट प्रहरी टोली परिचालन गरी ट्रान्सफर्मर भएको एरिया इलाकाहरूमा विशेष निगरानी बढाई शङ्कास्पद स्थानहरूमा स्टिङ अपरेसन, प्राविधिक मूल्याङ्कन, सिसिटिभी निगरानी तथा चोरी भएका ट्रान्सफर्मरका सामग्रीहरू बिक्री तथा खरिद गर्न सक्ने सम्भावित कवाडी पसल, भाँडा पसल तामा फ्याक्ट्रीहरूमा निगरानी तथा खानतलासी गर्दा चोरीमा संलग्न ७ जना व्यक्तिहरू र उक्त चोरीका सामग्री खरिद गर्ने ५ जनालाई ट्रान्सफर्मर चोरीमा प्रयोग भएका औजार, सवारी साधनहरू तथा ट्रान्सफर्मरमा प्रयोग भएका तामाको तारहरू सहित नियन्त्रणमा लिएको थियो ।

पक्राउ पर्नेमा मोरङ ग्रामथान-४ का ४२ वर्षीय अर्जुन कुमार माझी, ग्रामथान- ५ का ३१ वर्षीय इरज धामी, बेलबारी- ३ का २७ वर्षीय रञ्जित तामाङ, बेलबारी- ४ का २६ वर्षीय अर्जुन चौधरी, सुनसरी दुहबी-३ का ३५ वर्षीय अनुज विस्वास, दुहबी- २ का ३९ वर्षीय प्रयाग कुमार खाँ चौधरी र भारत घर भई हाल दुहबी- ४ स्थित ससुराली घरमा बस्दै आएका ३४ वर्षीय आलम मियाँलाई पक्राउ गरिएको हो ।

त्यस्तै, चोरीको सामान खरिद गर्ने विराटनगर-३ का ५३ वर्षीय लक्ष्य प्रधान, विराटनगर- ६ का ६२ वर्षीय कृष्ण गोपाल ताम्राकार, सुनसरी दुहबी-३ का ३२ वर्षीय योगेश अग्रवाल, दुहबी- २ का ३१ वर्षीय कपिल भट्ट र इटहरी- ४ का ३९ वर्षीय सिताराम राईलाई उनीहरूले खरिद गरेको चोरीको सामग्रीसहित नियन्त्रणमा लिइएको छ ।

प्रहरीले सुनसरीको इटहरी-१४ स्थित इरज धामीको डेरा कोठाबाट ७ किलोग्राम,  इटहरी-४ का सिताराम राईको भाडा पसलबाट ४७ किलोग्राम, इटहरी स्थित दिलीप चौधरीको कवाडी पसलबाट १२० किलोग्राम, मोरङ बुढीगंगा-३ स्थित विनय साहको यस यस मेटल फ्याक्ट्रीबाट ११५ किलोग्राम,  विराटनगर-६ का अजय साहको दुर्गा भाडा पसलबाट ६२ किलोग्राम, कृष्ण गोपाल ताम्राकारको मनकामना मेटल्स एण्ड सप्लायर्सबाट १७ किलोग्राम, लक्ष प्रधानको कवाडी पसलबाट ५२० ग्राम  ट्रान्सफर्मरमा प्रयोग हुने तामाको तार बरामद गरेको थियो ।

यसैगरी, चोरीमा संलग्न व्यक्तिहरूबाट विभिन्न साइजका डायल रेन्च थान २२ थान, सलाई रेन्च ३ थान, पिलास ३ थान, पेचकस ३ थान, छिनो १ थान, साङ्ली १ थान, कैँची १ थान, ह्याक्सो बिलेट ३ थान, खन्ती १ थान, ब्याट्री सहितको इलेकट्रिक ग्रेन्डर १ थान, झम्पल १ थान र उनीहरूले प्रयोग गरेका को. १ च ७७२९ नम्बरको पिकअप गाडी १ थान, विभिन्न कम्पनीको ५ थान मोटरसाइकल र १२ थान मोबाइल समेत बरामद गरेको छ। 

उक्त समूहले मोरङको विभिन्न स्थानबाट ८ थान, सुनसरीबाट १२ थान र झापाबाट २ थान ट्रान्सफर्मर चोरी गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस