राजविराज, २१ श्रावण। सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा प्रहरीको गोली लागेर स्थानीयको मृत्यु भएको घटनाको विरोध गर्दै स्थानीयले बुधबार बिहान जिल्ला प्रहरी कार्यालयको गेट अगाडि टायर बालेर प्रदर्शन सुरु गरेका छन्।
स्थानीयले राति गाउँमा पुगेको प्रहरीले ज्यादती गरेको दाबी गरिरहेका छन् भने तस्करसँग मिलेर स्थानीय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका लालु यादवमाथि गोली चलाएको आरोप लगाइरहेका छन्। उनीहरूले टोलीको नेतृत्व गर्ने जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर वीरेन्द्रकुमार यादवलाई कारबाही हुनुपर्ने र घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै प्रदर्शन गरिरहेका छन्।
मंगलबार राति तस्करी रोक्न त्यहाँ पुगेका प्रहरी र स्थानीयबीच झडप हुँदा प्रहरीले तीन राउन्ड गोली चलाएको थियो। गोली लागेर अन्दाजी ३६ वर्षीय यादवको मृत्यु भएको थियो।
उता, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले झडपको स्थिति नियन्त्रणमा लिन गोली चलाएको र यादवको तिघ्रामा लागेर उपचारको क्रममा मृत्यु भएको बताए। उनका अनुसार भारततर्फ तस्करी गर्न लागेको ८० कार्टुनभन्दा बढी मदिरा पनि बरामद गरिएको छ।


