काठमाडौँ, २१ श्रावण। घोराहीमा प्रहरीको ‘असई हुँ’ भन्दै धम्क्याएर चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। घोराही उप-महानगरपालिका-१४, सिद्धार्थ टोलस्थित गीता न्यौपानेको डेराबाट मोबाइल चोरी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरूमा कालिकोट तिलागुफा नगरपालिका-१ का २७ वर्षीय जगत शाही र जुम्ला हिमा गाउँपालिका-६ का २९ वर्षीय दीपक अधिकारी रहेका छन् । उनीहरू दुवै हाल घोराही उप-महानगरपालिका-१५, शिवबस्ती टोलमा बस्दै आएका थिए ।
साउन १८ गते बिहान न्यौपानेको कोठाबाट ५६ हजार रुपैयाँ पर्ने भिभो कम्पनीको मोबाइल चोरी गरी निस्कँदै गर्दा उनीहरूलाई फेला पारिएको थियो । मोबाइल चोरीको विषयमा सोधपुछ गर्दा उनीहरूले आफूहरू नेपाल प्रहरीको असई भएको भन्दै धम्क्याएका थिए ।
अधिकारीले आफ्नो मोबाइलमा नेपाल प्रहरीको पोसाक लगाएको र असईको फुली भएको फोटो समेत देखाएका थिए । सूचना पाएपछि प्रहरीले उनीहरूको डेरा कोठामा खानतलासी गर्दा न्यौपानेको चोरी भएको मोबाइल फेला पारेको थियो ।
दुवै जनालाई पक्राउ गरी थप अनुसन्धानका लागि दाङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहले बताए ।


