दाङ, २१ श्रावण। २३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दामा दोषी दाङकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई मंगलबार काठमाडौं-२६, नयाँ बसपार्कबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी चक्रबहादुर शाहले बताए ।
गढवा गाउँपालिका-७ मानपुरकी ५० वर्षीया वसन्ता शर्मा पण्डित आफ्नो सौताको छोराको हत्या गरी फरार भएकी थिइन् । २०५९ असार १९ गते पण्डितले आफ्नै घरभित्र ९ वर्षीय शरद शर्मालाई लठ्ठीले हानेर हत्या गरेकी थिइन्। हत्यापछि उनले शव मलखादमा गाडेकी थिइन्।
दाङ जिल्ला अदालतले २०६० असोज २६ गते उनलाई २ वर्षको कैद सजाय सुनाएको थियो । उक्त फैसलामा चित्त नबुझेपछि पुनरावेदन गर्दा तत्कालिन पुनरावेदन अदालत तुलसीपुरले २०६० माघ ३ गते उनलाई १० वर्ष कैद तोकेको थियो।
उक्त फैसलापछि फरार रहेकी पण्डितलाई इलाका प्रहरी कार्यालय गढवा, दाङबाट खटिएको प्रहरी टोलीले काठमाडौंमा फेला पारेको हो । उनी २३ वर्षदेखि काठमाडौं महानगरपालिका-९, गोङ्गबुमा छोरा केशवराज शर्मासँग बस्दै आएको खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको सहयोगमा पक्राउ परेकी पण्डितलाई कैद सजाय भुक्तानका लागि दाङ जिल्ला अदालतमा पठाइएको डीएसपी शाहले बताए ।


