सिरहा, २२ श्रावण। सिरहाको नरहा गाउँपालिका–३, खोरियाटोलस्थित मिर्चैया–चोहर्बा सडक खण्डमा हातहतियारसहित तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
मिर्चैया इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले भारतबाट गोलबजारतर्फ जाँदै गरेको BR 32 AW 1812 नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो करीब ४:०० बजे रोकेर चेकजाँच गर्दा ती युवाहरुको साथबाट एक थान कटुवा पेस्तोल फेला परेको हो।
पक्राउ परेका व्यक्तिहरूमा भारतको मधुबनी जिल्लाको बेल्हीपूर्वी पञ्चायत–३, झौली टोलका १९ वर्षीय ऋषि नाथ मण्डल (मोटरसाइकल चालक), २० वर्षीय ओम शंकर यादव (बीचमा सवार), र १९ वर्षीय आकाश कुमार मण्डल (पछाडिको सवारी) रहेका छन्। विशेषगरी आकाश मण्डलले उक्त पेस्तोल आफ्नो कम्मरमा लुकाईछिपाई राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि मिर्चैया प्रहरी कार्यालयमा राखी मिति २०८२।०४।२१ गते सिरहा जिल्ला अदालतमा पेश गरिएको छ। अदालतबाट तीन दिनको म्याद प्राप्त गरी अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जानकारी दिएको छ।
प्रहरीले सीमावर्ती क्षेत्रमा शंका लागेका व्यक्तिहरूको निगरानी तथा हातहतियार तस्करी नियन्त्रण गर्न विशेष सुरक्षा चेकजाँचलाई तीव्र पारेको जनाएको छ।


