रौतहट, २२ श्रावण। रौतहटमा मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन, नेपाल अन्तर्गत भोजपुरा कमाण्डको रौतहट जिल्ला सम्मेलन सम्पन्न भएको छ। गरुडा नगरपालिका-५ मा आयोजित सम्मेलनमा जिल्लाभरिका किसान, मजदुर तथा सामाजिक कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

“सम्पूर्ण किसान मजदुर एक होऔं, वित्तीय शोषण तथा उत्पीडन विरुद्ध संघर्ष गरौं” भन्ने मूल नारासहित सम्मेलनको सुरुवातमा सहभागीहरूले झाझपुल देखि दुर्गा मन्दिर परिक्रमा गर्दै जुलुससहित सम्मेलन स्थलमा प्रवेश गरेका थिए।
उद्घाटन सत्रको प्रमुख अतिथि निर्ग नविनले सम्बोधन गर्दै मिटरब्याजको नाममा भइरहेको आर्थिक शोषणविरुद्ध अब निर्णायक आन्दोलनको आवश्यकता औंल्याए।
उनले भने, “यो केवल रौतहटको सवाल होइन, सम्पूर्ण नेपालभरिका किसान मजदुरहरूको साझा लडाइँ हो। अब काठमाडौंमा निर्णायक संघर्ष गर्ने बेला आएको छ। सबैलाई आन्दोलनका लागि तयारी अवस्थामा रहनु आवश्यक छ।”
कार्यक्रमको अध्यक्षता भोजपुरा कमाण्ड इन्चार्ज तथा मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलनका जिल्ला अध्यक्ष शिवशंकर महतोले गर्नुभएको थियो। अध्यक्ष महतोले मिटरब्याज लगायतका अवैध ऋण प्रणालीहरूले किसान र मजदुर वर्गमाथि आर्थिक उत्पीडन गर्दै आएको गुनासो गर्दै भने, “अब न्यायको लागि संयुक्त र सशक्त आन्दोलन अपरिहार्य भइसकेको छ। किसान र मजदुरहरूको एकता नै हाम्रो शक्ति हो।”
सम्मेलनको बन्द सत्रबाट १५ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन गरिएको छ। समितिको अध्यक्षमा शिवशंकर महतो पुनः चयन हुनुभएको छ भने उपाध्यक्षमा मो. ईस्लाम, सचिवमा राम अकलेश पटेल, सह–सचिवमा जुनैद अन्सारी, कोषाध्यक्षमा शेख मुस्तुफा चयन भएका छन्। त्यसैगरी, सचिवालय सदस्यहरूमा गुदर बैठा, गोपाल सहनी, हृदय नारायण दास लगायत अन्य सदस्यहरू चयन गरिएको जनाइएको छ।
कार्यक्रमका वक्ताहरूले मिटरब्याज पीडित किसान तथा मजदुरहरूको दयनीय अवस्थाप्रति राज्य गम्भीर नदेखिएको भन्दै कडा आलोचना गरेका थिए। उनीहरूले अब सहनशीलताको सीमा नाघिसकेको भन्दै आन्दोलनलाई थप सशक्त र निर्णायक बनाइने चेतावनीसमेत दिए।

कार्यक्रमको उद्घोषण बैधनाथ सहनीले गर्नुभएको थियो। सम्मेलनले मिटरब्याज तथा वित्तीय शोषणविरुद्धको संघर्षलाई नयाँ गति दिने विश्वास व्यक्त गरिएको छ।


