रौतहट। भारतको उत्तराखण्ड राज्यमा मङ्गलवार र बुधवार आएको बाढी तथा पहिरोका घटनापछि १८ जना नेपाली सम्पर्कविहीन भएका छन्। बेपत्तामध्ये जाजरकोटका १२ जना, बर्दियाका ५ जना र जुम्लाका १ जना रहेको पुष्टि भएको छ।
मङ्गलवार उत्तरकाशी जिल्लाको धराली बजार क्षेत्रमा आरिघोप्टे वर्षाका कारण बाढी आएको थियो भने बुधवार पौडी गढवाल क्षेत्रमा ठूलो पहिरो खसेको हो। यी घटनामा मजदुरी गर्न तथा स्याउ टिप्न गएका नेपालीहरू प्रभावित भएको बताइएकाे छ।
जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जारी गरेको विज्ञप्तिमा वडा नं. २ का करिब १३ जनाभन्दा बढी तथा अन्य वडाका केही व्यक्ति समेत सम्पर्कविहीन रहेको उल्लेख छ। गाउँपालिकाले नेपाल सरकार र प्रदेश सरकारमार्फत परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराउँदै तत्काल कूटनीतिक पहल गर्न आग्रह गरेको छ।
त्यसैगरी, पौडी गढवाल नजिकैको सिन्धु खोला किनारमा बुधवार बिहान खसेको पहिरोमा परी बर्दियाका ५ जना नेपाली बेपत्ता भएको जानकारी प्राप्त भएको छ।
नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार भारतीय पक्षसँग खोज तथा उद्धार कार्यका लागि निरन्तर समन्वय भइरहेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार प्रभावित क्षेत्रमा उद्धार कार्य भइरहेको छ, तर कठिन भौगोलिक अवस्थाका कारण कार्यमा चुनौती थपिएको छ।


