सर्लाही, २३ श्रावण। परिवारभित्रको विवादका कारण घर छाडेर भारत गएकी एक नेपाली युवतीमाथि पटना शहरमा बस चालकद्वारा यौन दुर्व्यवहार भएको घटना सार्वजनिक भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार सिलगुडी हुँदै पटना पुगेकी युवतीलाई भारतीय नागरिक रहेका बस चालकले रोजगारीको प्रलोभन देखाउँदै आफूसँग लगेका थिए। उक्त क्रममा उनले पीडितलाई दुई दिनसम्म बलात्कार गरेका साथै साथमा रहेको नगद रकम र मोबाइल फोन समेत लुटेको आरोप छ।
पीडितलाई गान्धी मैदान बस पार्क नजिक रुँदै बसेको अवस्थामा पटनास्थित नेपाली समुदायका सदस्यहरूले फेला पारी प्रहरी कार्यालयमा उजुरी दिन सहयोग गरेका थिए। पीडितको बयानका आधारमा स्थानीय प्रहरीले घटनामा संलग्न बस चालकको खोजीकार्य सुरु गरेको जनाएको छ।
सञ्चारमाध्यमहरूका अनुसार पीडित युवतीमाथि घरमा सौतेनी आमाले निरन्तर कामको दबाब दिँदै आएकी थिइन्, जसको कारण उनले पाँच दिन अघि घर छोडेकी थिइन्। सुरक्षाका कारण पीडितको नाम र ठेगाना सार्वजनिक गरिएको छैन।


