सडक दुर्घटनामा चन्दा देवी बैठाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण २६, आईतबार (६ महिना अघि)
  • ६ पटक पढिएको
सडक दुर्घटनामा चन्दा देवी बैठाको मृत्यु

सर्लाही, २५ श्रावण। बलरा नगरपालिका–११ की जननिर्वाचित दलित महिला सदस्य चन्दा देवी बैठाको सडक दुर्घटनापछि उपचारका क्रममा भएको ढिलाइ र एम्बुलेन्स चालकको लापरबाहीप्रति बलरा नगरपालिकाले शून्य सहनशीलता अपनाउँदै छानबिन प्रक्रिया अघि बढाएको छ।

नगर प्रमुख रामाशंकर प्रसाद कुशवाहाका अनुसार मिति २०८२ साउन २३ गते दुर्घटनामा परेकी बैठालाई प्रारम्भिक उपचारपछि प्रादेशिक अस्पताल मलंगवा पठाउने क्रममा ड्युटीमा रहेका एम्बुलेन्स चालक रामाशंकर महतोले “डिजल छैन, एम्बुलेन्स सञ्चालनमा छैन” भन्दै सेवा दिन अस्वीकार गरेका थिए। कुशवाहाले यसलाई “गैरजिम्मेवार र अमानवीय कार्यशैली” भन्दै अक्षम्य लापरबाहीको संज्ञा दिएका छन्।

अस्पताल प्रशासनलाई चालकलाई काममा नलगाउन तत्काल निर्देशन दिइएको छ। साथै वडाध्यक्ष विरेन्द्र प्रसाद चौधरीको संयोजकत्वमा ७ दिनभित्र प्रतिवेदन पेश गर्ने गरी छानबिन समिति गठन हुने भएको छ। प्रतिवेदनपछि आवश्यक कानुनी र प्रशासनिक कारबाही हुने नगरपालिकाले जनाएको छ।

नगर प्रमुख कुशवाहाले बलरा नगरले अस्पताल स्तरोन्नति, भवन सुधार, बर्थिङ सेन्टर पुनः सञ्चालन, ल्याब डिजिटलाइजेशन, आकस्मिक कक्ष सञ्चालन, चिकित्सक र चालक थप्ने जस्ता काममार्फत स्वास्थ्य सेवामा सुधारका प्रयास भइरहेको बताए। तर, उनले कुनै पनि बहानामा मानव जीवनप्रति लापरवाही सह्य नहुने स्पष्ट चेतावनी दिएका छन्।

चन्दा देवी बैठाको असामयिक निधनले नगरवासी मात्र नभई समग्र समाजले साहसी र जुझारु आवाज गुमाएको भन्दै कुशवाहाले श्रद्धाञ्जली अर्पण गरेका छन्। बैठाको निधनमा आज नगरपालिकाले शोक बिदा दिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस