वीरगञ्ज, २५ श्रावण। पर्सा जिल्लाको ठोरी गाउँपालिका – ४ विजयवस्ती नजिकैको गोपीवस्तीमा आइतबार बिहान एक दुर्लभ पाटे बाघ मृत अवस्थामा फेला परेको छ ।
निर्मल मध्यवर्ती समितिका अध्यक्ष चिन बहादुर श्रेष्ठका अनुसार, खेततर्फ जाँदै गरेका स्थानीय किसानहरूले बाटोमा बाघ सुतेको जस्तो देखेपछि सुरुमा जिउँदो हो कि भनेर त्रसित हुँदै भागेका थिए ।
उक्त स्थान पर्सा राष्ट्रिय निकुञ्जभन्दा भारतको वाल्मीकि टाइगर रिजर्भ नजिकै पर्ने भएकाले मृत बाघ सोही जङ्गल क्षेत्रबाट आएको हुन सक्ने अनुमान गरिएको छ ।
प्रारम्भिक अनुसन्धानमा बाघको मृत्यु आपसी लडाइँका कारण भएको हुन सक्ने देखिएको छ । अध्यक्ष श्रेष्ठका अनुसार, घटनास्थल वरपर जमिन खोतलिएको र लडाइँका स्पष्ट सङ्केतहरू देखिएका छन् । मृत बाघको घाँटीमा अर्को बाघले टोकेको जस्तो चोटपटक पनि फेला परेको छ । घटनाबारे थप अनुसन्धान गर्न पर्सा राष्ट्रिय निकुञ्ज र सम्बन्धित निकायहरूलाई खबर गरिएको छ ।
घटनाले संरक्षित वन्यजन्तुको सुरक्षामा थप चुनौती थपिएको स्थानीयले बताएका छन् । विस्तृत अनुसन्धानपछि मात्र मृत्युको कारणबारे थप जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ ।


