वीरगञ्ज, २५ श्रावण। पर्सा प्रहरीले गत असार १७ मा एकैदिन वीरगन्जका विभिन्न स्थानबाट स्रोत नखुलेको रकमसहित तीनजनालाई पक्राउ गर्यो। पक्राउ पर्नेमा पर्साको पकाहामैनपुर गाउँपालिका– २ निवासी २६ वर्षीय अनिलकुमार वर्णवाल, वीरगन्ज– ३ आदर्शटोलनिवासी २३ वर्षीय विनितकुमार श्रीवास्तव र बाराको परवानीपुर गाउँपालिका– ४ बस्ने ४४ वर्षीय दीपकप्रसाद सोनार थिए।
प्रहरीका अनुसार पक्राउ परेका वर्णवालसँग मकालु चोकमा कालो ब्यागभित्र लुकाइछिपाई राखेको अवस्थामा ९ लाख ४७ हजार फेला परेको थियोे। यस्तै, श्रीवास्तवसँग कृषि विकास बैंक लिंकरोडमा कालो ब्यागभित्र लुकाइछिपाई राखेको अवस्थामा १५ लाख ८१ हजार बरामद भएको हो।
वीरगन्ज– १६ रजतजयन्ती चोकमा ना. १६ प २३२८ नम्बरको सुपरस्प्लेन्डर मोटरसाइकलमा सवार सोनारबाट तीन लाख बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए। उनका अनुसार पक्राउ परेकाहरूविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ को दफा १२५ को (क)बमोजिम (हुन्डीसम्बन्धी कारोबार गर्न नहुने) कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान गरेको थियो।
पर्सामा पछिल्लो चार आर्थिक वर्षमा अवैध तथा वित्तीय (हुण्डी) कारोबारमा कुल ६७ जना पक्राउ परेका छन्। जसमा ४६ जनामाथी मुद्दा दर्ता भएको तथ्यांकमा देखिन्छ। उनीहरुको साथबाट चार करोड ८६ लाख ७८ हजार ६ सय २० रुपैयाँ बरामद भएको प्रनाउ लम्सालले बताए।
यस्तो छ चार वर्षको तथ्यांक
प्रनाउ लम्सालका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा हुण्डी कारोबार गर्ने २२ जना पक्राउ पर्दा १४ जनामाथी मुद्दा दद्र्दा भएको थियो। पक्राउ पर्नेमा १० जना नेपाली र १२ जना विदेशी छन्। उनीहरुको साथबाट एक करोड ६५ लाख १३ हजार ६ सय २० रुपैयाँ बरामद भएको थियो।
यस्तै आर्थिक वर्ष २०७९/०८० मा हुण्डी कारोबारको आरोपमा २२ जना पक्राउ पर्दा १७ जनामाथी मुद्दा दर्ता भयो। पक्राउ पर्नेमा १६ नेपाली र ६ विदेशी छन्। उनीहरुको साथबाट एक करोड ९३ लाख ६६ हजार ३ सय रुपैयाँ बरामद भएको थियो। आर्थिक वर्ष २०८०/०८१ मा ११ जना पक्राउ पर्दा ७ जनामाथी मुद्दा दर्ता भएको प्रहरीको तथ्यांकमा उल्लेख छ। उनीहरुको साथबाट ६१ लाख २४ हजार ७ सय नेपाली र ९८ हजार भारु बरामद भएको प्रहरी नायब उपरिक्षक लम्सालले जानकारी दिए।
यसैगरी, गत आर्थिक वर्ष २०८१/०८२ मा हुण्डी कारोबार गर्ने १२ जना पक्राउ परे। जसमध्ये ९ नेपाली र तीन विदेशी रहेका छन्। पक्राउ परेकामध्ये ८ जनामाथी मुद्दा दर्ता भएको छ। प्रनाउ लम्सालका अनुसार पक्राउ परेकाहरुको साथबाट ६६ लाख ७४ हजार रुपैयाँ बरामद भएको छ।


