सर्लाही, २५ श्रावण। सर्लाहीको हरिवन नगरपालिका–१०, सुखेपोखरीमा आइतबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एक किशोरीले ज्यान गुमाएकी छन् भने चालक गम्भीर घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय हरिवनका अनुसार सुखेपोखरी क्याम्पस छेउमा साइकलमा सवार १४ वर्षीया दिपिका बुढाथोकीलाई प्रदेश ०२–०३–०१९ प ५४०८ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।
दुर्घटनापछि स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार गरिएको दिपिकालाई थप उपचारका लागि रौतहटको चन्द्रनिगाहपुर अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनापछि मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालक बागमती नगरपालिका–१ का १६ वर्षीय सविन भुजेल पनि गम्भीर घाइते भएका छन्। टाउको र आँखामा चोट लागेका उनलाई प्रहरीको निगरानीमा वीरगञ्जस्थित अस्पतालमा उपचार भइरहेको छ।
तीव्र गतिमा गुडिरहेको मोटरसाइकलले ठक्कर दिँदा साइकलसहित किशोरी सडकबाट टाढा उछिट्टिएकी थिइन्। प्रहरीले यस घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।


