काठमाडौँ, २६ श्रावण। इजरायलको हवाई आक्रमणमा परी गाजामा अल जजीराका चार पत्रकार मारिएका छन् ।
अल जजीराले गाजाको अल–शिफा अस्पताल नजिक भएको आक्रमणमा परी उनीहरु मारिएको जनाएको छ ।
अल जजीराका अनुसार इजरायली आक्रमणका समयमा संवाददाता अनस अल–शरीफ र मोहम्मद कुरैके, क्यामेराम्यान इब्राहिम जही र मोहम्मद नौफाल अस्पतालको मुख्य द्वारमा पत्रकारहरुका लागि बनेको एक त्रिपालमा रहेका थिए ।
करिब दुई साताअघि अल जजीराले इजरायली रक्षा बल (आईडीएफ)को निन्दा गर्दै गाजामा अलि–शरीफसहित उक्त टिमका पत्रकारविरुद्ध अभियान चलाइएको बताएका थियो ।
आक्रमणको केही समयपछि आईडीएफले अनस अल–शरीफमाथि आक्रमण भएको पुष्टि गरेको छ । आईडीएफले भने टेलिग्राममा पोस्ट गर्दै भनेको छ, ‘हमासको आतंकवादी सेलका प्रमुखका रुपमा काम गरिरहेका थिए ।’ आईडीएफले आक्रमणमा मारिएका अन्य पत्रकारहरुबारे उल्लेख गरेको छैन ।
अल जजिराका म्यानेजिङ एडिटर मोहम्मद मोआवादले बीबीसीसँग कुरा गर्दै भने, ‘अल–शरीफ गाजामा भइरहेको अत्याचारबारे समाचार दिने एक मात्र आवाज थिए ।’


