बारा, २६ श्रावण। बाराको कलैया उपमहानगरपालिका–५ दरबारटोलस्थित एक घरबाट प्रहरीले तीन लाख ६४ हजार रुपैयाँ बराबरका २८ थान नयाँ सिलाई मेसिन बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय बारा र अस्थायी प्रहरी पोस्ट बसपार्क कलैयाबाट प्रहरी नायब निरीक्षक मेघराज प्रसाद साहको कमाण्डमा खटिएको संयुक्त टोलीले सूचनाका आधारमा सोमबार छापा मारेको हो।
प्रहरीका अनुसार बरामद सिलाई मेसिन विभिन्न कम्पनीका नयाँ भए पनि बिल–भरपाई नभएको अवस्थामा फेला परेका हुन्। ती मेसिन ५० वर्षीय नैमुदिन अंसारीको तीन तले पक्की घरको भुइँतलामा रहेको सटरभित्र लुकाइएका थिए।
सिलाई मेसिनसहित कलैया उपमहानगरपालिका–१६ बस्ने ३० वर्षीय कलिम अंसारीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरीले जनाएको छ।


