वीरगञ्ज, २६ श्रावण। पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–७, रेशमकोठी टोल निवासी ४५ वर्षीया ममता शर्मा गत साउन २५ गते आइतवार दिउँसो करिब २ बजेदेखि बेपत्ता भएकी छन्। घरबाट निस्किएपछि उनी अहिलेसम्म सम्पर्कविहीन रहेकी जिल्ला प्रहरी कार्यालय पर्साले पुष्टि गरेको छ।
उनका पति उमा शंकर शर्माले दिएको जानकारी अनुसार, ममता शर्माले घर छोड्नेबेला कुनै जानकारी दिएकी थिइनन्। उनले विभिन्न नम्बरबाट सम्पर्क गर्ने प्रयास गरे पनि पछिल्ला तीन दिनदेखि फोन लागिरहेको छैन।
परिवारका अनुसार, घटना हुनुभन्दा एक दिनअघि घरमा सामान्य विवाद भएको थियो। त्यसपछि ममता शर्माले आफ्नो ह्वाट्सएप प्रोफाइलमा ‘मैया मै आरही हुँ’ लेखेर राखेकी थिइन् र त्यसयता सम्पर्क हुन सकेको छैन।
बेपत्ता महिलाले प्रयोग गर्ने सम्भावित मोबाइल नम्बरहरू ९८४५२६५२५२ र ९८०४२६४९२८ रहेका छन्।
प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाएको छ। “निवेदन प्राप्त भएको छ, खोजी कार्य भइरहेको छ,” जिल्ला प्रहरी कार्यालय पर्सा स्रोतले जानकारी दिएको छ।
परिवारले ममता शर्माबारे जानकारी हुने जो–कसैलाई तत्काल नजिकको प्रहरी कार्यालय वा परिवारसँग सम्पर्क गर्न आग्रह गरेका छन्।


