लमजुङ, २६ श्रावण। मध्यपहाडी (पुष्पलाल) लोकमार्गमा पर्ने लमजुङको सुन्दरबजार नगरपालिका-८, पोखरेल गाउँको घुम्तीमा अटो दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । सुन्दरबजारबाट पाउँदी जाँदै गरेको ग.प्र. ०४–००१ ह २०४ नम्बरको अटो सोमबार बिहान सवा १० बजेतिर दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते सुन्दरबजार नगरपालिका–६ अन्नपूर्ण टोल ४५ वर्षिया गोमा अधिकारीको टाउकोमा चोट लागेकाले उपचारको लागि चितवन रिफर गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङ प्रमुख वरिष्ठ सई परशुराम जोशीका अनुसार अटो दुर्घटनामा परेर ५० वर्षिया कृष्णकुमारी रेग्मी, ४५ वर्षिया सृजना तामाङ, ५५ वर्षिया स्वतन्त्रा घिमिरे र ३७ की सरस्वती न्यौपाने घाइते भएका छन् । उनीहरु सबै सुन्दरबजार-६ का हुन् ।
यस्तै, पर्वतको कुश्मा नगरपालिका–१० घर भई हाल लमजुङ क्याम्पसमा अध्ययनरत २१ दिक्षकिरण शर्मा घाइते भएका छन् । घाइते सबैको अवस्था सामान्य रहेको र सुन्दरबजारस्थित एचडीसीएस–नमुना सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
चालक सुन्दरबजार-२, परेवाडाँडाका ४३ वर्षीय विनोद खड्का र अटो इलाका प्रहरी कार्यालय भोटेओडारको नियन्त्रणमा रहेको ट्राफिक प्रहरीले जनाएको छ । क्षमताभन्दा बढी यात्रु रहेको र घुम्तीमा मोड्न खोज्दा दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।


