रौतहट,२७ श्रावण। रौतहटको दुर्गाभगवती गाउँपालिका–४ का वडाध्यक्ष रामानन्द प्रसादसँग नेपाल र भारत दुवै देशको नागरिकता रहेको आरोप लागेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले छानबिन सुरु गरेको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार वडाध्यक्ष रामानन्दसँग नेपालकै नागरिकताको साथै भारत बिहारको पूर्वी चम्पारनको नागरिकता रहेको उजुरी परेपछि गत ७ साउनमा उनलाई सदरमुकाम गौरस्थित कार्यालयमा बोलाई बयान लिइएको हो। प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले दोहोरो नागरिकताको आशंकामा बयान लिएको र विषय सम्बन्धी थप विवरण संकलन भइरहेको बताए।
नयाँ पत्रिकाले प्राप्त विवरणअनुसार रामानन्दले भारत बिहारको पूर्वी चम्पारनबाट ‘पप्पु यादव’ नाममा नागरिकता लिएका छन्। सोही आधारमा उनले भारतीय निर्वाचन आयोगबाट मतदाता परिचयपत्र समेत प्राप्त गरेका छन्। सन् १९८२ जन्ममिति रहेको उक्त परिचयपत्रमा बुवाको नाम सियारामप्रसाद यादव उल्लेख छ भने ठेगाना ‘परेवा सहर, चिरैया, पूर्वी चम्पारन’ रहेको छ।
नेपालमा भने उनले २३ जेठ २०४७ मा रौतहटबाट नागरिकता लिएका छन्, जसमा पिताको नाम रामचन्द्र कापड यादव र ठेगाना पञ्चरुखी गाविस–३ उल्लेख छ। सोही नागरिकताको आधारमा जारी मतदाता परिचयपत्रमा आमाको नाम कान्तीदेवी र उनको नाम रामानन्द प्रसाद राखिएको छ। दुवै देशका कागजातमा प्रयोग भएको फोटो मेल खाने पाइएको प्रशासनको प्रारम्भिक निष्कर्ष छ।
जिल्ला प्रशासनका अनुसार दुई महिना अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी गृह मन्त्रालय हुँदै प्रशासन कार्यालयमा आएको हो। प्रशासनले छानबिनका क्रममा नेपालस्थित भारतीय दूतावाससँग समेत पत्राचार गरेको छ।
रामानन्द प्रसादले भने आफूले दोहोरो नागरिकता नलिएको दाबी गरेका छन्। उनले भने, “सिडिओ कार्यालयले नागरिकताबारे बयान लिएको हो, तर मसँग दुईवटा नागरिकता छैन। हाम्रो पुस्तौँपुस्ता नेपाली नागरिक हुन्।”


