

काठमाडौं, २७ श्रावण। भक्तपुरको चाँगुनारायण नगरपालिका–२, दुवाकोटमा प्रहरीले स्रोत अज्ञात रहेको नगदसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ।
आइतबार दिउँसो, बनेपाबाट काठमाडौँतर्फ प्रदेश ३–०२–००३ प १६८३ नम्बरको मोटरसाइकलमा यात्रा गरिरहेका उनीहरूलाई प्रहरीले चेकजाँचका क्रममा रोकेर खानतलासी गरेको थियो। सो क्रममा उनीहरूको साथबाट नगद पाँच लाख रुपैयाँ बरामद भएपछि तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१ का २१ वर्षीय कोराजन धमला र भारतका २० वर्षीय ऋषिकेश गोडेसे रहेका छन्। धमला हाल काभ्रेको बनेपामा बसोबास गर्दै आएका थिए। बरामद रकमको स्रोतबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
