विराटनगर, २७ श्रावण। मोरङको कानेपोखरीमा श्रीमानको कुटपिटबाट घाइते भएकी एक महिलाको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका–१ झरनाकुटुकी ४० वर्षीया दुर्बी सतारको मृत्यु भएको मोरङ प्रहरीका डीएसपी हस्तबहादुर सुनारले बताए ।
उनका अनुसार घरायसी विवादका क्रममा पति ४५ वर्षीय बाबुधन सतारले पत्नी दुर्बीमाथि कुटपिट गरेका थिए । घटना आइतबार राति ८ बजेतिरको हो ।
कुटपिटबाट कानमा चोट लागेर घाइते भएकी उनलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा अवस्था गम्भीर बन्दै गयो । तर, आफन्त र परिवारका सदस्यले आफूखुसी सोमबार घरतिर लिएर गएका थिए । घर लैजाँदै गर्दा बाटैमा साँझ दुर्बीको मृत्यु भएको डीएसपी सुनारले बताए ।
उनका अनुसार पति–पत्नीबीचको झगडा छुट्याउन गएका छिमेकी ५० वर्षीय छोटेलाल हस्दासमेत घटनामा परेर घाइते भएका छन् । टाउकोमा चोट लागेका उनको अवस्था सामान्य रहेको र कोशीमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
श्रीमतीको हत्यामा संलग्न बाबुधनलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइने प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी तुलसीराम अर्याल नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।


