काभ्रे, २७ श्रावण। काभ्रेको रयालेका ३ छोरी बाबुको काजकिरियामा बसेका छन् । स्थानीय हरिप्रसाद सापकोटाको हृदयघातका कारण ९१ वर्षको उमेरमा आइतबार निधन भएपछि उनका छोरीहरू किरिया बसेका हुन् । स्वर्गीय सापकोटाका ५ बहिनी छोरीहरू छन् । तीमध्ये ३ दिदीबहिनी काजकिरिया बसेका हुन् ।
सापकोटालाई आइतबार उनका तीन छोरीले दागबत्ती दिएका थिए । किरियामा बसेका ३ छोरीमध्ये विमला बनेपा नगरपालिकाकी उपप्रमुख हुन् । निर्मला शिक्षक र राधिका एमाले धादिङ जिल्ला कमिटीकी सचिव हुन् ।
नेकपा एमाले काभ्रे जिल्ला सचिव राजकुमार सापकोटाका अनुसार छोरा नभएपनि आफूहरूलाई कर्म दिने बाबुको निधनपछि दागबत्ती दिने र काजकिरिया गर्ने तीनै छोरीले प्रण गरेका थिए ।
सापकोटाले फेसबुकमा स्टाटस लेखेका छन्, ‘यो सामाजिक मान्यताप्रतिको विद्रोह हो । विद्रोहको कुनै वैधानिक नियम हुँदैन । विद्रोह विद्रोह नै हो र बहस स्वागतयोग्य छ । बाबुको किरिया गर्नु सन्तानको कर्तव्य हो । नयाँ मान्यता स्थापित गर्दा बहस हुन्छ । बहस स्वच्छ, कानुनी प्रबन्ध र व्यक्तिको स्वतन्त्रतालाई सम्मान गर्दै आजको भन्दा प्रगतिशील सामाजिक मान्यता स्थापित गर्नका लागि हुनुपर्छ ।
मेरो चेतना, मैले बुझेको दर्शन, राजनीति, समाज, सामाजिक मान्यताको विकास क्रमको बुझाइले तपाईंहरूको यो कदमको स्वागत गर्छ । गर्नुपर्छ । अगाडि बढ्नुहोस् कदममा साथ दिने हात कमी छैनन् । सुकरात, बुद्ध, राम, कृष्ण पनि सर्वस्वीकार्य थिएनन् । कालखण्डले उनीहरूलाई महान् साबित गर्यो ।’
गाउँमा नजिकका दाजुभाइहरू हिन्दु संस्कारअनुसार ढिकुरो बनाउन नआएपछि छोरीहरू किरियामा बसेका हुन् । यसअघि विभिन्न कार्य गर्ने ब्राह्मणले पनि छोरीहरूबाट काजकिरिया गर्न अस्वीकार गरेपछि पनौती मल्पीबाट ब्राह्मण दीपक सुवेदीलाई ल्याएर उनीहरूले काजकिरिया गराएका हुन् । आइतबार दाहसंस्कारमा उपस्थिति भएका ब्राह्मण सोमबार सापकोटाको घरमा उपस्थित भएनन् ।
किरियामा बसेकी बनेपा नगरपालिकाकी उपमेयर सापकोटाले समाजले बाबुको काजकिरियामा अवरोध गरेपछि आफूहरूले उठाएको कदमले हजारौं छोरीहरूमाथि न्याय हुने बताएकी छन् । उनले फेसबुकमार्फत आफूहरू बुवाको किरिया बसेपछि छिमेकी तथा दाजुभाइले बहिष्कार गरेको गुनासोसमेत पोखेकी छन् । फेसबुकमार्फत उपप्रमुख सापकोटाले सानैदेखि सहँदै आएको विभेद र तिरस्कारविरुद्ध अडान कायमै राख्ने बताएकी छन् ।


