पर्सा,२८ श्रावण। पर्साको बहुदरमाई नगरपालिका–२ मा बुधबार बिहान भएको आगलागीबाट एक स्थानीयको घर र गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार स्थानीय राजु रामको फुसको घर र घरसँगै रहेको गोठमा बिहान सवा ५ बजे आगलागी भएको हो। भैंसीका लागि खाेले पकाउन चुल्होमा बालिएको आगोबाट आगलागी सुरु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
आगलागीबाट घरभित्र रहेका लत्ताकपडा, भाँडावर्तन, अन्नपात पूर्णरूपमा जलेको छ भने गोठभित्र रहेका पाडा र बाख्रा समेत जलेर मरेका छन्। आगो निभाउने क्रममा घरधनी राजु राम घाइते भएका छन् र उनको उपचार वीरगञ्जस्थित नारायणी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।
प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो। आगलागीबाट करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमालको क्षति भएको अनुमान गरिएको छ।


