सर्लाही,२८ श्रावण। सर्लाहीमा सिँचाईका लागि जडान गरिएको ट्रान्सफर्मर चोरी भएको छ। गएराती जिल्लाको पर्सा गाउँपालिका वडा नं. ४ स्थित चौरमा राखिएको १०० के.भी.को ट्रान्सफर्मरको कोइल लगायत सम्पूर्ण महत्त्वपूर्ण सामग्री चोरी भएको हो।
उक्त ट्रान्सफर्मर हुलाकी राजमार्गबाट करिब ५०० मिटर उत्तर र नारायणपुर बजारबाट करिब ५०० मिटर पश्चिममा रहेको उमेश राय यादवको खेतमा किसानहरूलाई कृषि सिँचाइ सुविधा प्रदान गर्न जडान गरिएको थियो।
स्थानीयका अनुसार चोरीको यो घटनाले क्षेत्रमा सिँचाइ सेवामा गम्भीर असर पर्ने देखिएको छ। ट्रान्सफर्मरको महत्त्वपूर्ण सामग्री चोरी भएपछि किसानहरूको कृषि कार्य प्रभावित हुने चिन्ता बढेको छ। घटनाबारे प्रहरीलाई जानकारी गराइए पनि चोरको पहिचान अहिलेसम्म हुन सकेको छैन।
स्थानीय बासिन्दाले प्रशासनसँग तत्काल अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन्। उनीहरूले यस्ता घटनाले गाउँको विकास र कृषि कार्यमा बाधा पुग्ने भन्दै तत्काल कदम चाल्न जोडदार माग गरेका छन्।
प्रहरीले घटनास्थलको निरीक्षण गरी अनुसन्धान सुरु गरेको जनाएको छ। यस्ता घटना जिल्लामा बेला बेला हुने गरे पनि अहिलेसम्म कसले यसरि ट्रान्सफर्मर चोरी गर्छ भन्ने कुरा खुल्ने गरेको छैन।

