जनकपुर,२८ श्रावण। भारतको राजस्थान राज्यको दौसा जिल्लामा भएको सडक दुर्घटनामा ७ बालबालिकासहित कम्तीमा १० जनाको मृत्यु भएको छन्। भारतीय सञ्चारमाध्यमका अनुसार ख्यातिप्राप्त खाटुश्याम मन्दिर दर्शन गरी फर्किरहेका तीर्थयात्रीहरू सवार कार सडकछेउमा पार्क गरिएको पिकअप ट्रकसँग तीव्र गतिमा ठोक्किँदा घटना भएको हो।
दुर्घटनापछि कारमा रहेका ७ बालबालिका र ३ महिलाको घटनास्थलमै मृत्यु भएको हो। स्थानीय प्रहरी प्रमुख सागर राणाले दुर्घटनाको पुष्टि गर्दै भने, “खाटुश्याम मन्दिरबाट फर्किरहेका भक्तजनहरूको सवारी दुर्घटनामा परेको जानकारी प्राप्त भएको छ। अहिलेसम्म १० जनाको मृत्यु पुष्टि भएको छ।”
उनका अनुसार गम्भीर घाइते भएका करिब ७, ८ जनालाई उपचारका लागि जयपुरस्थित एसएमएस अस्पताल पठाइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

