पवन कुमार उपाध्याय
रौतहट,२८ श्रावण। रौतहटको गरुडा नगर क्षेत्रमा आवारा कुकुरको संख्यामा तीव्र वृद्धि भएपछि स्थानीयवासी त्रासमा परेका छन्।
बिहान सबेरै हिँड्ने मजदुर, विद्यालय जाने बालबालिका र रातको समयमा बजार क्षेत्र हुँदै आउने–जाने सर्वसाधारणलाई कुकुरको टोकाइको डर सताउन थालेको छ। स्थानीयको भनाइ अनुसार, आवारा कुकुरको समूह राति मात्र नभई दिनको समयमा पनि बजार, सडक र चोकहरूमा भेला भएर हिँड्ने गरेको छ।
यसले पैदल यात्री, साइकल र मोटरसाइकल चालकलाई समेत जोखिममा पारेको छ। हालै गरुडा–४ स्थित दुर्गा मन्दिर अगाडि आवारा कुकुर अचानक सडकमा पसेपछि एक मोटरसाइकल चालक दुर्घटनाबाट बालबाल बचेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
गरुडा व्यापारीक नगरी भएकाले यहाँ दैनिक हजारौं मानिस आवतजावत र किनमेल गर्न आउँछन्। भीडभाड भएको क्षेत्रमा समेत आवारा कुकुरको समूह देखिनु सर्वसाधारण र व्यापारी दुवैका लागि चिन्ताको विषय बनेको छ। यो समस्या पुरानो भए पनि गरुडा नगरपालिकाले कुकुर नियन्त्रणका लागि हालसम्म कुनै पनि प्रभावकारी अभियान चलाएको छैन, जसका कारण समस्या झन् जटिल बन्दै गएको स्थानीयवासीको गुनासो छ।
स्वास्थ्यकर्मीहरूले कुकुरको टोकाइबाट रेबिजको जोखिम उच्च हुने चेतावनी दिँदै सतर्क रहन र टोकाइ भए तुरुन्त उपचारका लागि स्वास्थ्य संस्थामा पुग्न आग्रह गरेका छन्। स्थानीयले यस समस्याको दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने माग गरेका छन्।



