पवन कुमार उपाध्याय
रौतहट ,२९ श्रावण। कटहरिया नगरपालिका वडा नं. ३ बिर्ति प्रस्टोकामा नगर प्रमुख अजय प्रकाश जैसवालले वडावासीसँग प्रत्यक्ष भेटघाट गर्दै विकासका विषयमा विस्तृत छलफल गरेका छन्। वडा कार्यालयमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी,बुद्धिजीवी, किसान र सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो।
युवा मेयर जैसवालले छलफलका क्रममा किसानलाई आवश्यक कृषि पोल, सडक निर्माण, धार्मिक स्थल संरक्षण, बजार व्यवस्थापन लगायतका विषयमा वडावासीसँग प्रतिक्रिया लिएका थिए। उनले “जनताको आवश्यकता अनुसार नै योजना अघि बढाइनेछ” भन्दै जनसहभागिताको महत्त्व औंल्याए।
आउँदो कृष्ण जन्माष्टमी मेलाको तयारीका लागि उनले पूजा सामग्रीसहित धुमधामपूर्वक मेला सञ्चालन गर्न २० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरे। वडावासीले मेयरको सहयोगले यस वर्षको मेला अझ भव्य र आकर्षक हुने बताए।
कार्यक्रममा वडा अध्यक्ष श्यामाकान्त प्रसाद यादव, स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा धार्मिक समितिका सदस्यहरूले नगर प्रमुखको योगदानप्रति आभार व्यक्त गर्दै धार्मिक, सांस्कृतिक र विकासका कार्यमा निरन्तर साथ दिन आग्रह गरे।
नगर प्रमुख जैसवालले भने,
“यो वडा कृषिमा अत्यन्तै समृद्ध छ। यहाँका किसानले नर्सरीमार्फत फलफूलका बिरुवा उत्पादन गरी बिक्री वितरण गर्छन्। बिर्ति प्रस्टोका गाउँलगायत यस वडाका अधिकांश बासिन्दाको मुख्य पेशा नै नर्सरी व्यवसाय हो। किसानलाई सहज हुने गरी आवश्यक सहयोग पुर्याइनेछ।”
साथै, उनले आगामी योजनाबारे जानकारी दिंदै जनताको माग र सुझावलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। “जनताको आवाज नै हाम्रो मार्गदर्शन हो। हामी विकासका काम जनताको आवश्यकता अनुसार अघि बढाउँछौं। सडक, शिक्षा, स्वास्थ्य, र कृषि क्षेत्रमा थप लगानी गरेर वडाको समग्र विकास सुनिश्चित गर्नेछौं,” मेयर जैसवालले बताए।
वडावासीहरूले नगर प्रमुखको सक्रियता र जनसहभागितामै आधारित विकास कार्यप्रति प्रशंसा व्यक्त गर्दै भने कि, “मेयर जैसवालको पहलले हाम्रो गाउँको कृषि, सांस्कृतिक र धार्मिक गतिविधिहरू अझ समृद्ध हुँदैछ। हामी सबै वडावासी उनका साथमा छौं।”


