रौतहट,२९ श्रावण। कटहरिया नगरपालिका वडा नं. ७ बगहीमा आयोजित विशेष जनसंवाद कार्यक्रममा नगर प्रमुख अजय प्रकाश जैसवाल र वडा अध्यक्ष शहिद मिया धोबीले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको गुनासो, सुझाव र आवश्यकताहरू सुनेका छन्।
कार्यक्रममा स्थानीयहरूले शिक्षा, स्वास्थ्य, बाटोघाटो, मठमन्दिर, मस्जिद, विद्यालयमा शिक्षक अभाव, बर्थिङ सेन्टरको आवश्यकता, कृषि पोलको उपलब्धता लगायतका विषयमा विस्तृत छलफल गरेका थिए। विद्यालयमा शिक्षक अभावका कारण पठनपाठन प्रभावित भएको भन्दै तत्काल शिक्षक नियुक्तिको माग राखिएको थियो।
त्यस्तै, वडामा बर्थिङ सेन्टर स्थापना भएमा महिला तथा गर्भवती आमाहरूलाई प्रसूति सेवाका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्ने भएकाले यसलाई उच्च प्राथमिकतामा राख्नुपर्ने माग गरिएको थियो। साथै किसानका लागि कृषि पोलको व्यवस्था, सडक तथा नाला निर्माण र मर्मत, धार्मिक संरचना—मठमन्दिर र मस्जिद—को निर्माण तथा संरक्षणमा पनि जनताले जोड दिएका थिए।
जनताको माग सुनेपछि नगर प्रमुख जैसवालले शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधार विकासका क्षेत्रमा कुनै कमी हुन नदिने प्रतिवद्धता व्यक्त गर्दै सम्बन्धित निकायलाई तत्काल पहल गर्न निर्देशन दिने बताए। वडा अध्यक्ष धोबीले वडावासीको जीवनस्तर उकास्न आवश्यक सबै विकास योजना कार्यान्वयन गर्ने र जनतासँग निरन्तर प्रत्यक्ष संवाद राख्ने आश्वासन दिए।
कार्यक्रममा सहभागी स्थानीय बासिन्दाले निर्वाचित जनप्रतिनिधिसँग प्रत्यक्ष रुपमा समस्या राख्न पाउनु सकारात्मक पहल भएको बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।


