सर्लाही, ३० श्रावण। सर्लाहीमा छुट्टाछुट्टै भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
गत मंगलबार दिउँसो करिब २ बजेतिर जिल्लाको ईश्वरपुर नगरपालिका–१ चौलिखास्थित राईटरखोर – पोखरिया भित्री सडकखण्डमा पोखरियाबाट राईटरखोरतर्फ तीव्र गतिमा जाँदै गरेको एचपी ५५ एसी ६१०५ नम्वरको भारतीय मोटरसाइकल अनियन्त्रित भई नालामा खस्दा चालक ईश्वरपुर–७ पोखरी टोलका २४ वर्षीय अमनदिप राम गम्भीर घाइते भएका थिए।
टाउको, छाती, खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेका रामको अवस्था गम्भीर रहेकाले उनलाई प्राथमिक उपचारपछि एलएस न्युरो अस्पताल, परवानीपुर, बारामा लगिएको थियो। तर, उपचारको क्रममा बिहिबार साँझ ६:४२ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। उक्त मोटरसाइकल इलाका प्रहरी कार्यालय भक्तिपुरको नियन्त्रणमा छ।
यस्तै, बिहिबार बेलुकी ८:२० बजे जिल्लाको चक्रघट्टा गाउँपालिका – ५ पडरियास्थित भित्री सडकखण्डमा चक्रघट्टाबाट पडरिया जाँदै गरेको बिआर ३० ए जी ५०३६ नम्बरको मोटरसाइकलले बाटोमा हिँडिरहेका पैदल यात्रीहरूलाई ठक्कर दिँदा चक्रघट्टा – ५ पडरियाका ६० वर्षीय बरन बैठा र सोही स्थानका २० वर्षीय दीपक मण्डल गम्भीर घाइते भएका थिए।
उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याइएकोमा बैठालाई डाक्टरले मृत घोषणा गरेका थिए। सोही दुर्घटनामा मोटरसाइकल चालक चक्रघट्टा – १ का २० वर्षीय हरे कृष्ण यादव पनि घाइते भएका छन्। दीपक मण्डल र यादवको अवस्था सामान्य रहेको र उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि मोटरसाइकल ईलाका प्रहरी कार्यालय चक्रघट्टाको नियन्त्रणमा रहेको छ। दुवै घटनाको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव निरीक्षक सरोज राईले जानकारी दिए।


