सप्तरी, ३० श्रावण। सप्तरीको राजविराज बजारमा शुक्रबार बिहान पत्रकार सौरभ यादवमाथि संगठित समूहले चक्कु प्रहार गरेका छन्। प्रहरीका अनुसार घटना गजेन्द्रनारायण सिंह अस्पतालको दक्षिणी गेट अगाडि भएको हो।
प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलमा आएका तीन जनामध्ये दुईले यादवलाई चक्कु, हेलमेट र पेटी प्रयोग गरी अन्धाधुन्ध आक्रमण गरेका थिए। पत्रकार प्रवेशकुमार मिश्रका अनुसार लखेटिएपछि आक्रमणकारीहरू मोटरसाइकलमै भागेका थिए।
हात, टाउको र शरीरका विभिन्न भागमा चोट लागेका यादवको सोही अस्पतालमा उपचार भइरहेको छ। उनी नयाँ पत्रिका दैनिकका सप्तरी संवाददाता हुन्। यादवले घटनामा छिन्नमस्ता–१, वीरपुरका ‘क्याप्टेन’ भनिने कृष्णनाथ यादव, राजविराज–११ का राजु यादव र विष्णुपुर–७ का राजबाबु झा संलग्न रहेको दाबी गरेका छन्।
उनका अनुसार समाचार लेखेकै कारण आफूलाई लक्षित गरिएको हो। सप्तरीका प्रहरी प्रमुख एसपी गौतमकुमार केसीले आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको र पक्राउका लागि प्रहरी टोली खटाइएको बताए।
घटनापछि नेपाल पत्रकार महासंघ सप्तरी र प्रेस मञ्च सप्तरीले संयुक्त विज्ञप्ति जारी गर्दै दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाहीको माग गरेका छन्। उनीहरूले आक्रमणलाई प्रेस स्वतन्त्रता र कानुनी शासनमाथिको खुला चुनौतीका रूपमा व्याख्या गर्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।

