मधेश प्रदेशमा करेन्ट लागेर तीन वर्षमा ३२४ जनाले ज्यान गुमाए

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण ३२, शनिबार (६ महिना अघि)
  • ३ पटक पढिएको
मधेश प्रदेशमा करेन्ट लागेर तीन वर्षमा ३२४ जनाले ज्यान गुमाए

सर्लाही, ३१ श्रावण। मधेस प्रदेशमा करेन्ट लागेर हुने मृत्यु दर निरन्तर रुपमा बढिरहेको छ। यहाँ गत तीन वर्षको अवधिमा मात्रै ३२४ जनाले ज्यान गुमाएका छन् । मृतकमध्ये अधिकांश किसान रहेका छन्, जसले खेतमा सिँचाइका लागि मोटर चलाउने क्रममा अकालमा मृत्यु बरण गरेका हुन्।

धान खेतीको मौसममा वर्षा अभाव हुँदा किसानहरू बोरिङ, कुलो, पैनी वा पोखरीमार्फत मोटर प्रयोग गरी खेतमा पानी लगाउने बाध्यतामा पर्छन् । तर विद्युतिय सावधानी नअपनाउँदा खेतमै करेन्ट लागेर ज्यान गुमाउने घटना वर्षेनी दोहोरिएको छ ।

घरमा चापाकल वा सिटी रिक्सा चार्ज गर्ने क्रममा समेत यस्ता दुर्घटनाहरू हुने गरेका छन्। यहि साउन महिनामा मात्र मधेसका विभिन्न जिल्लामा एकै परिवारका दम्पतीसहित दर्जन भन्दा बढीले ज्यान गुमाएका छन् ।

धनुषाधामका शिवजी मण्डलदेखि सप्तरीका शम्भुकुमार इसर, रौतहटका शेख जफिर, धनुषाका असर्फी महरा, सिराहाकी सविता कामती, सप्तरीका मो. युनुस मियाँ, कृष्णासवरनकी उर्मिला देवी यादव, सप्तरीकै बालेश्वर खङ्ग–रामकुमारी खङ्ग दम्पतीलगायतले खेतमै वा घरमै करेन्टले ज्यान लिएका ताजा घटना हुन् ।

मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा १०७, २०८०/८१ मा ९८ र २०८१/८२ मा ११९ गरी तीन वर्षमा ३२४ जनाको मृत्यु भएको छ । यस अवधिमा करेन्ट लागेर पुरुष २३७, महिला ५४ र बालबालिका ३३ को मृत्यु भएको छ।

नेपाल विद्युत प्राधिकरणका अनुसार असावधानी, अर्थिङ नगरी मोटर जडान गर्ने, असुरक्षित तारको प्रयोग, लापरबाही र पुराना पोल लाइनका कारण करेन्ट लागेर मृत्यु हुने दुर्घटनाहरू भइरहेका छन् ।

विद्युत प्रयोग बढेसँगै करेन्टबाट ज्यान जोगाउन सुरक्षित तार र उपकरण प्रयोग, घरमा अनिवार्य अर्थिङ तथा आरसिबी/एमसिबी जडान, भिजेको हातले स्विच नछुने, पानी नजिक करेन्ट नचलाउने र मर्मत गर्दा स्विच बन्द गरी रबरका पञ्जा–चप्पल प्रयोग गर्न विज्ञहरूले सल्लाह दिएका छन् ।

दुर्घटना भएमा प्रत्यक्ष छुने होइन, काठ, बाँस वा प्लास्टिकको सहायताले छुट्याउनुपर्ने र तत्काल उपचारका लागि अस्पताल पुर्‍याउन ढिलाइ नगर्न चेतावनी दिइएको छ । विद्युतिय सुरक्षामा अझै सचेतना नबढे मधेसमा किसानदेखि सर्वसाधारणसम्म करेन्टको मारमा परिरहने देखिन्छ।

ताजा अपडेट

खोजी गर्नुहोस