
वीरगञ्ज, ३१ श्रावण। वीरगञ्जस्थित मानवसेवा आश्रमले बाराबाट एक जना बेवारिसे व्यक्तिको उद्धार गरेको छ ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका – २ स्थित वन कार्यालय अगाडि शुक्रवार राती मानवसेवा आश्रम वीरगञ्ज शाखाले मनोसामाजिक अपाङ्गता भएका एक जना अन्दाजी ४० वर्षीय पुरुषको उद्धार गरेको हो ।
उद्धार गरिएका पुरुषले आफ्नो नाम र ठेगाना स्पष्ट बताउन नसकेको आश्रमका संयोजक देवेश गुप्ताले जानकारी दिए । उद्धारपछि व्यक्तिलाई मानवसेवा आश्रम वीरगञ्ज ल्याइएको गुप्ताले बताए ।
आश्रमका उनको सरसफाइ र नुहाइ-धुहाइ गरेर मनोरोग विशेषज्ञ डा. भरत गोइतको निगरानीमा उनको औषधि उपचार सुरु गरिने गुप्ताले बताए ।
उद्धार कार्यमा आश्रमका गुप्तासँगै सामाजिक अभियन्ता प्रकाश थारु, आश्रमकी संयोजक मुना मगर, जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएका प्रहरी जवान नागेश्वर यादव, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी सहायक हवलदार अरविन्द कुमार दास र स्थानीय व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
आश्रमका संयोजक देवेश गुप्ताका अनुसार, हाल मानवसेवा आश्रम वीरगञ्जमा ४५ जना महिला सहित कुल ५४ जना बेवारिसे तथा असहाय व्यक्तिहरू आश्रित छन् । आश्रमले सडकमा भेटिएकाहरूको उद्धार, सरसफाइ, औषधि उपचार र हेरचाह गर्दै आएको छ । साथै, सम्भव भएसम्म उनीहरूलाई आफ्नो परिवारसँग पुनर्मिलन गराउने कार्यमा पनि आश्रम सक्रिय रहेको गुप्ताले बताए ।
मानवसेवा आश्रमले बेवारिसे तथा असहाय व्यक्तिहरूको संरक्षण र पुनर्स्थापनामा निर्वाह गरेको भूमिकाले सामाजिक सेवाप्रतिको प्रतिबद्धतालाई झल्काउँछ ।
