
रौतहट, ३१ श्रावण। कटहरिया नगरपालिका वडा नं. १ भसेढवामा कृष्ण जन्माष्टमीको अवसर पारेर नगर प्रमुख अजय प्रकाश जैसवाल र नगर उपप्रमुख रिता देवी यादवले वडावासीसँग प्रत्यक्ष भेटघाट गर्दै विकासका विषयमा विस्तृत छलफल गरेका छन्।
कार्यक्रममा स्थानीय बासिन्दाले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी लगायतका समस्या र आवश्यकता नगर प्रमुखसँग राखेका थिए। वडास्तरमै छलफलमार्फत योजनालाई अघि बढाउनुपर्ने माग जनाइएको कार्यक्रममा नगर प्रमुख जैसवालले भने,
👉 “जनताको आवाज नै हाम्रो मार्गदर्शन हो। नगरपालिकाले हरेक निर्णय जनताको सुझाव र प्राथमिकताको आधारमा लिन्छ।”
नगर उपप्रमुख यादवले समेत वडास्तरमै जनतालाई समेटेर योजना अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै नागरिकसँग सहकार्य गरेर मात्रै नगरको विकास सम्भव हुने धारणा राखिन्।
यसै अवसरमा नगर प्रमुख जैसवालले कृष्ण जन्माष्टमी पूजापाठ तथा मेलाको तयारीलाई सहज बनाउन समितिलाई पूजासामग्री व्यवस्थापनका लागि नगद रु. २० हजार सहयोग गरे।
यसैक्रममा शुक्रवार वडा नं. ४ बहादुरपुरमा पनि नगर प्रमुख अजय प्रकाश जैसवालले प्रत्यक्ष भेटघाट कार्यक्रमलाई निरन्तरता दिँदै स्थानीयवासीसँग छलफल गरेका थिए। कार्यक्रममा नगरका समस्या, आवश्यकता तथा आगामी विकास योजनाबारे विचारविमर्श गर्दै उनले वडावासीलाई सुझावसहित सक्रिय सहभागिताको आग्रह गरे।
धार्मिक तथा सामाजिक कार्यक्रमप्रति संवेदनशील देखिएका नगर प्रमुख जैसवालले बहादुरपुरको कार्यक्रममा समेत पूजासामग्री व्यवस्थापनका लागि समितिलाई रु. २० हजार सहयोग गरे भने वडाकै एक वृद्ध महिलालाई व्यक्तिगत रूपमा नगद सहयोगसमेत प्रदान गरेका थिए।
जनताको घरदैलोमा पुगेर समस्या सुन्ने र समाधानको बाटो खोज्ने शैलीका कारण नगर प्रमुख जैसवालको प्रत्यक्ष भेटघाट कार्यक्रमलाई स्थानीयले सकारात्मक रूपमा लिएको देखिन्छ।
