रौतहट, ०१ भदौ । कटहरिया नगरपालिकाको नगर प्रमुख अजय प्रकाश जैसवालले आफ्नो जनमुखी अभियानलाई निरन्तरता दिँदै वडा नं. २ जमुनियास्थित श्री माध्यमिक विद्यालय जमुनियामा अनुगमन गरेका छन्।
विद्यालय व्यवस्थापन, शैक्षिक गुणस्तर, शिक्षकको उपस्थिति, विद्यार्थीको अनुशासन र भौतिक पूर्वाधारको अवस्था प्रत्यक्ष अवलोकन गर्दै उनले तत्काल आवश्यक सुधारका लागि विद्यालय प्रशासनलाई सुझाव दिएका छन्।
विद्यालय अनुगमनपछि नगर प्रमुखले आयोजित भेलामा अभिभावक, शिक्षक, विद्यार्थी र स्थानीय जनप्रतिनिधिसहित जनतासँग प्रत्यक्ष छलफल गरे। छलफलमा अभिभावकहरूले विद्यालयमा शैक्षिक सामग्रीको अभाव, शिक्षक संख्याको कमी, विद्यार्थी उपस्थितिमा देखिएको कमजोरी, अनुशासनमा सुधार आवश्यकतासहित विद्यालय भवन मर्मतको माग प्रस्तुत गरे।
जनताको माग र सुझाव
भेलामा सहभागी स्थानीय जनताले विद्यालय सम्बन्धी समस्यामात्र नभई नगरपालिकाको अन्य पक्षतर्फ पनि ध्यानाकर्षण गराए। उनीहरूले कृषि पोललाई सशक्त बनाउनुपर्ने, ग्रामीण सडक निर्माणलाई छिटो गतिमा अगाडि बढाउनुपर्ने, खानेपानी व्यवस्थामा तत्काल सुधार गर्नुपर्ने, विद्युत सेवा विस्तार गर्नुपर्ने र युवाहरूलाई रोजगारीको अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याए।
विकास योजना
जनताको सुझावलाई प्राथमिकतामा राख्दै नगर प्रमुख अजय प्रकाश जैसवालले विद्यालय सुधारसँगै विभिन्न विकास तथा निर्माण कार्यको घोषणा गरे।
रामबालक यादवको घरदेखि जयराम पटेलको घर हुँदै रामबाबु चौधरीको घरसम्म पक्की ढलान निर्माण
जयराम पटेलको घरदेखि छठघाटसम्म पक्की ढलान निर्माण
नाला सरसफाइ तथा विद्युत व्यवस्थापन सुधार
छेदी चौकदेखि विजय यादवको घर हुँदै खोलासम्म ढलान, नाला तथा चापाकल निर्माण
हथियाहीस्थित श्री राम जानकी मठको मर्मत कार्य
यी कामलाई छिट्टै कार्यान्वयनमा ल्याइने उनले प्रतिवद्धता जनाए। युवालाई रोजगारी दिने योजना कार्यक्रममा युवाहरूको भविष्यबारे उठेको गुनासो सुन्दै नगर प्रमुखले भने, “युवासँग रोजगारी छैन भन्ने कुरा वास्तविक हो। नगरपालिकाले अब युवालाई आफ्नै क्षेत्रमा व्यवस्थित गर्दै रोजगारीका अवसर सिर्जना गर्नेछ। हामी कृषि, उद्यमशीलता र सीपमूलक तालिममार्फत युवालाई आत्मनिर्भर बनाउन काम गर्दैछौँ।”
स्थानीयको उपस्थिती र समर्थन
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक योगेन्द्र कुशवाहा, वडा सदस्य मोतिम मिया धोबी, सुबोध राम, वडा सभापति, वडा प्रत्यासी रञ्जित साह, समाजसेवी रुपनारायण चौधरी, अभिभावकसहित अन्य सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय उपस्थिति थियो।
जनताको सुझाव सुन्दै नगर प्रमुख जैसवालले थपे, “शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी हाम्रो प्रमुख प्राथमिकता हुन्। श्री माध्यमिक विद्यालय जमुनियालाई आदर्श शिक्षालय बनाउन आवश्यक सहयोग गर्नेछौँ। कृषि पोलमार्फत किसानलाई सहजता दिनेछौँ, सडक निर्माणलाई गति दिनेछौँ र युवालाई रोजगारी दिलाउने वातावरण बनाउनेछौँ।”
जनमुखी नेतृत्वप्रति जनताको प्रशंसा
नगर प्रमुख अजय प्रकाश जैसवालले दैनिक रूपमा जनतासँग प्रत्यक्ष भेटघाटलाई निरन्तरता दिँदै आएका छन्। यस कार्यशैलीले जनता आफूसँग जोडिएको महसुस गरेको र स्थानीयस्तरमै समस्या राख्न सहज भएको बताएका छन्।
भेटघाट कार्यक्रममा सहभागी स्थानीयहरूले नगर प्रमुखको नेतृत्व शैलीप्रति खुसी प्रकट गर्दै भने, “नगर प्रमुखले प्रत्यक्षरूपमा जनता भेटेर समस्या सुन्नु आफैँमा जनमुखी नेतृत्वको परिचायक हो। यसले समस्या समाधानमा गति दिएको छ।”


