रौतहट, ०१ भदौ। रौतहटको चन्द्रपुर नगरपालिका -९ चेतनगर विर्ताबस्ने २४ वर्षीया रोमा कुमारी साहलाई ससुराली पक्षले मारेर फालेको माइती पक्षले आरोप लगाएका छन्। जग्गा विवाद लगाएत कारणले ससुराली पक्षले आफ्ना छोरी रोमालाई मारेर फालेको उनका बुवा चुल्हाई साहले आरोप लगाएका छन्।
देवाही गोनाही नगरपालिका – २ घर भएका चुल्हाई साहले आज आफ्नै गाउँमा पत्रकार सम्मेलन गरेर घटना बारे विस्तृत कुरा बताएका छन्। चन्द्रपुर नगरपालिका -९ का जादोलाल साहको छोरा सरोज साहसंग आजभन्दा तीन वर्ष अघि आफ्ना छोरी रोमा कुमारीको मागी विवाह गरेको पत्रकार सम्मेलनमा चुल्हाई साहले बताए।
जग्गाको विषयलाई लिएर घरमा विवाद हुँदा छोरी रोमा कुमारीको उनका श्रीमान सरोज साह, जेठान मनोज साह, जेठानी रेखा साह, ससुरा लगाएत घरका अन्य सदस्यहरू मिलेर ज्यान मारेर गाउँभन्दा पर रहेको एक नहरीमा फालेको अवस्थामा शव फेला परेको साहले बताए । रोमाका बुवा साहका अनुसार रोमाको श्रीमान सरोजको जेठो दाई मनोज साहले घडेरी किनेर आफ्ना व्यक्तिगत नाउँमा बकसपत्र गराएका थिए।
घरका सबै सदस्य एक ठाउँमा रहेको र अंस बन्डा नभएको अवस्थामा आफूहरु संग बेइमानी गर्ने नियतका साथ मनोज साहले गुपचुप ढंगले घडेरी किनेको कुरा रोमा कुमारीले पछि थाहा पाएकी थिइन्। त्यसपछि रोमाले मनोजले किनेको जग्गाबाट आधी हिस्सा आफूले पनि पाउनुपर्ने अडान लिन थालेपछि घरमा विवाद हुन सुरु भएको थियो।
त्यो भन्दा पहिले रोमा माथि घरका सदस्यहरूले बोक्सीको पनि आरोप लगाएको थियो। मृतक रोमा कुमारीको ९ महिनाका एक छोरा र डेर वर्षकी एक छोरी गरी दुई सन्तान छन् । उनको विवाह भएको तीन वर्षमै ज्यान गएको हो ।
सोही विवादबाट उन्मुक्ति पाउन रोमाका श्रीमान सरोज, जेठान मनोज र जेठानी रेखा साह मिलेर आफ्ना छोरी रोमाको गत साउन १५ गते हत्या गरेर नहरिमा फालेको रोमाका बुवा चुल्हाई साहको आरोप छ।
उनले भने, ‘ नहरीमा डुबेर मरेको भए पेट पानीले फुलेको हुनुपर्थ्यो तर पेटमा पानी नै नभएकोले घटना शंकास्पद लागेपछि आफूहरुले लास पोस्टमार्टम गर्न भन्यौ ।’
तर लास पोस्टमार्टम गरेपछि घटनाको पोल खुल्ने डरले रोमाका श्रीमान, जेठान, ससुरा लगाएतले पोस्टमार्टम गर्न नमानेको उनले सुनाए । उनीहरूले पोस्टमार्टम गर्न नमानेपछि घटना रहस्यमय वा शंकास्पद रहेको भनी झन् बढी शंका लाग्न थालेको उनले जनाए।
उनले अघि भने, त्यति मात्र नभई उनका ससुराली पक्षले पोस्टमार्टम नगरी घटना मिलापत्र गर्न दबाब दिन थाले, त्यसपछि झन् शंका लाग्यो, त्यसपछि हामी पोस्टमार्टम नगरी शव जलाउन नदिने आफूहरु अडान लियौं, ।’
उनले भने, ‘त्यसपछि बल प्रहरीले पोस्टमार्टम गर्न तयार भए र पोस्टमार्टम गरियो ।’ ससुराली पक्षले शव पोस्टमार्टम गर्न नमान्नु, पोस्टमार्टम गर्नुभन्दा अघि मिलापत्र गर्न दबाब दिनु, पेटमा कहीं कतै पानी नदेखिनु, शरीरको कुनै भागमा निलडाम नदेखिनु जस्ता कारणले आफ्ना छोरीको डुबेर मृत्यु नभई उनका ससुराली पक्षले मारेर नहरीम फालेको माइती पक्षको बुझाइ छ।
घटना शंकास्पद रहेकोले पोस्टमार्टम रिपोर्टको आधारमा छानबिन गरी घटनामा संलग्नलाई कार्यवाही गर्नुको सट्टा प्रहरीले उनीहरुलाई उल्टै जोगाउन खोजेको मृतक रोमाका बुवा चुल्हाई साहले आरोप लगाएका हुन्।
घटनामा संलग्न रहेका रोमाका श्रीमान सरोज, जेठान मनोज, जेठानी रेखा साह सहितका व्यक्ति माथि कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गर्न इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिइएपनि प्रहरीले अझै कुनै सुनुवाई नगरेको रोमाका बुवा चुल्हाई साहले दुखेसो गरे ।
रोमाका बुवा चुल्हाई साहले दोषीलाई कारवाही गर्न उनीहरूमाथि इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएको एक साता भन्दा बढी दिन भएपनि प्रहरीले अझै जाहेरी दर्ता गर्न सकेको छैन । प्रहरीले जाहेरी दर्ता नगरेपछि रोमाका माइती पक्षका व्यक्तिहरू निकै पीडित र चिन्तित भएका छन्। छोरीको हत्यारालाई कार्यवाही गराउनका लागि चुल्हाई साह प्रहरी कहाँ धाइरहेका छन् तर प्रहरीले उनको कुरा सुन्न मानेका छैनन ।
ससुराली पक्षले आफ्ना छोरीको हत्या गरेपनि न्यायका लागि प्रहरीमा गएपनि प्रहरीले समेत नसुनेपछि अब न्याय माग्न कहाँ जाने भन्दै चुल्हाई साह निकै चिन्तामा परेका छन्। प्रहरीले मुद्दा दर्ता गर्न आलटाल गरेपछि पत्रकारको सहारा लिन आफू पत्रकार सम्मेलन गरेको उनले बताए। छोरीको न्यायका लागि उनका बुवा साहले मिडियामा आएर पत्रकारलाई हारगुहार गर्न बाध्य छन् ।


