सर्लाही, ०२ भदौ। सर्लाहीको हरिपुर्वामा गत हप्तामात्र पूर्व शिक्षक रामपुकार यादवमाथि गोली प्रहार गरी हत्या गर्ने धीरु भन्ने धीरेन्द्र राय आपराधिक इतिहास बोकेको व्यक्ति भएको खुलेको छ । उनले ठीक एक वर्षअघि आफ्नै श्रीमतीलाई समेत गोली हानी हत्या गरेका थिए ।
हरिपुर्वा नगरपालिका–५ का २७ वर्षीय धीरेन्द्र रायलाई प्रहरीले रामपुकारको हत्यामा संलग्न रहेको बताएको छ। गएको शुक्रबार राति नगरपालिका–६ निवासी ४० वर्षीय रामपुकार यादव घरमै छिमेकीहरुसंग बसिरहेका बेला कन्चटमा गोली प्रहार भएपछि गम्भीर घाइते भएका थिए । महोत्तरीको सोनामा पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
प्रहरी अनुसन्धानमा रामपुकारमाथि गोली प्रहार गर्ने ‘मुख्य सुटर’ धीरु नै रहेको बताईएको छ । गोली प्रहारपछि भाग्दै गर्दा उनी बसन्तपुर क्षेत्रमा मोटरसाइकल दुर्घटनामा परेका थिए । सोही क्रममा भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित घाइते अवस्थामा फेला परेका उनलाई उपचार पश्चात सर्लाही प्रहरीको नियन्त्रणमा लिइएको हो ।
यस्तै, धीरुले गत वर्ष २०८१ असोज ९ गते राति पौने २ तिर आफ्नै घरमा श्रीमती २३ वर्षीया चित्रलेखा यादवलाई टाउकोमा दुई राउन्ड गोली प्रहार गरी हत्या गरेका थिए । सो क्रममा उनका बुवा ५४ वर्षीय रामदिनेश यादव समेत गोली लागेर घाइते भएका थिए । त्यसयता धीरु फरार रहँदै आएका थिए र प्रहरीको ‘मस्ट वान्टेड’ सूचीमा परेका थिए।
स्रोतका अनुसार रामपुकारमाथि गोली प्रहार हुनुमा लागूऔषध सेवन गर्ने छोरासँगको विवाद कारण बनेको देखिन्छ । विवादमा संलग्न अर्का फरार व्यक्तिको योजनामा धीरुलाई ‘सुटर’का रूपमा प्रयोग गरिएको आशंका प्रहरीले गरेको छ ।
धीरुविरुद्ध अदालतमा म्याद थप गरेर अनुसन्धान जारी छ । अर्का फरार अभियुक्तको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले जानकारी दिए।

