भदौ ०२ गते । रौतहट
रौतहट जिल्लाको कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जैसवालले आफ्नो जनमुखी अभियानअन्तर्गत नगरभित्रका विभिन्न वडामा घरदैलो तथा प्रत्यक्ष भेटघाटलाई निरन्तरता दिइरहनु भएको छ । नगर प्रमुख जैसवालले सोमबार वडा नं. २ स्थित छेदी चौकमा निर्माणाधीन कोल्ड चेम्बर चिस्यानको अनुगमन, निर्माण कार्यको प्रगति तथा गुणस्तरीयता गर्नुका साथै स्थानीय वडावासीसँग विकाससम्बन्धी छलफल गरेका हुन् ।
उक्त कोल्ड चेम्बर चिस्यान निर्माण सम्पन्न भएपछि नगरभित्रका कृषकहरूलाई ठूलो फाइदा पुग्ने अपेक्षा गरिएको छ । यस चिस्यानले किसानहरूले उत्पादन गरेका तरकारी, फलफूल र अन्य नाशवान वस्तुहरू लामो समयसम्म ताजा राख्न सहयोग गर्नेछ । यससँगै उत्पादन भण्डारण गर्न सहज हुने र बजार व्यवस्थापनमा पनि सुधार आउने नगर प्रमुख जैसवालले बताएका छन्। उनका अनुसार, यस सुविधा सञ्चालनमा आएपछि किसानहरूलाई तत्कालै आफ्नो उत्पादन बिक्री गर्नुपर्ने बाध्यता हट्नेछ र कृषि उत्पादनमा समेत उत्साह थपिनेछ ।
अनुगमनका क्रममा नगर प्रमुख जैसवालले वडा नं. २ हथियाहीका स्थानीय बासिन्दाहरूसँग प्रत्यक्ष भेटघाट गर्दै विभिन्न समस्या तथा आवश्यकताबारे छलफल गरे। सार्वजनिक जग्गा अतिक्रमण, सडक निर्माण, सरसफाइ, वातावरण संरक्षण, खानेपानी आपूर्ति र समग्र नगर विकासका विषयमा छलफल भएको थियो। उनले नगरवासीको सक्रिय सहयोग बिना कुनै पनि विकास सम्भव नहुने भन्दै सबैलाई विकासका कार्यमा हातेमालो गर्न आग्रह गरे।
“तपाईँ नगरवासीहरूको साथ, सहयोग र विश्वास रह्यो भने कुनै पनि काम असम्भव हुने छैन। हामी सबै मिलेर कटहरियालाई नमूना नगर बनाउन सक्छौँ,“ नगर प्रमुख जैसवालले वडावासीलाई सम्बोधन गर्दै भने।
यसअघि पनि नगर प्रमुख जैसवालले नगरभित्रका अन्य वडामा पुगेर विकाससम्बन्धी छलफल गर्दै आएका छन्। नियमित घरदैलो अभियानमार्फत जनताको सुझाव संकलन गर्ने र जनताका प्राथमिक समस्या पहिचान गरी समाधानतर्फ लाग्ने आफ्नो प्रतिबद्धता दोहोर्याएका छन्।
यसरी निरन्तर जनतासँगको प्रत्यक्ष भेटघाट, विकास योजनाको अनुगमन तथा छलफलमार्फत नगर प्रमुख जैसवालको जनमुखी अभियानलाई स्थानीयवासीहरूले सकारात्मक रूपमा स्वागत गरेका छन्।


