मितेरी पुलमा सशस्त्र प्रहरीका जवानले यात्रुमाथि गरे निर्घात कुटपिट

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ३, मंगलबार (६ महिना अघि)
  • ३ पटक पढिएको
मितेरी पुलमा सशस्त्र प्रहरीका जवानले यात्रुमाथि गरे निर्घात कुटपिट

वीरगञ्ज, ०३ भदौ। वीरगञ्जलाई सीमावर्ती भारतीय सहर रक्सौलसँग जोड्ने मैत्री (मितेरी) पुलमा सशस्त्र प्रहरीका जवानले एक यात्रुमाथि गरेको ज्यादतीको घटना सार्वजनिक भएको छ ।

नेपालबाट मितेरी पुल हुँदै भारततर्फ सत्याग्रह एक्सप्रेस ट्रेन समात्न रक्सौल स्टेसन जाँदै गरेका यात्रुलाई सशस्त्र प्रहरी जवानले निर्घात कुटपिट गरेको स्थानीयहरूले बताएका छन् । कुटपिटका कारण गम्भीर घाइते भएका युवकको खुट्टा समेत भाँचेको बुझिएको छ ।

प्रत्यक्षदर्शीहरूका अनुसार पुलमा सामान जाँचका क्रममा जवानले युवकसँग दुर्व्यवहार गरेका थिए । दुर्व्यवहारको विरोध जनाएपछि जवान आक्रोशित भई युवकलाई लाठीले प्रहार गर्न थाले । युवकसँग रहेकी महिलाले कुटपिट नगर्न आग्रह गरे पनि प्रहरी जवानले कुनै सुनुवाइ नगरेको स्थानीयहरूको आरोप छ ।

घटनापछि स्थानीयवासी आक्रोशित बनेका छन् । उनीहरूले सशस्त्र प्रहरी जवानहरूको गतिविधिविरुद्ध विरोध प्रदर्शन गरेका छन् । स्थानीय मुस्तकीम अन्सारीका अनुसारले मैत्री पुलमा यात्रुमाथि दुर्व्यवहार नयाँ कुरा नभएको बताए । “तर आज त हद नै भयो, यात्रुको खुट्टा नै तोडियो,” उनले भने ।

घटनाको भिडियो पनि एक यात्रुले खिचेर सामाजिक सञ्जालमा राखेका कारण आक्रोश झनै चुलिएको छ । सामाजिक सञ्जालमा मानिसहरूले सशस्त्र प्रहरीको कार्यशैलीको निन्दा गर्दै पीडितलाई न्याय दिलाउन माग गरेका छन् ।

यता, घटनापछि भारतीय सीमा क्षेत्रमा पनि असन्तोष बढेको छ । स्थानीयहरूले भारतीय दूतावासमार्फत उच्चस्तरीय छानबिन गर्न र नेपाल सशस्त्र प्रहरीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।

पीडित युवकको पहिचान सार्वजनिक नभए पनि घटनाले भारत–नेपाल सीमामा यात्रुहरूको सुरक्षा र मानवअधिकारबारे गम्भीर प्रश्न खडा गरेको छ ।

यस विषयमा बुझ्न सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका गणपति, सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पूरण चन्द्र भट्टको प्रतिक्रिया लिन सम्पर्क गर्दा फोन उठेन ।

ताजा अपडेट

खोजी गर्नुहोस