रौतहट, ०३ भदौ। रौतहटको फतुवा विजयपुर नगरपालिकामा भएको अनियमितता र भ्रष्टाचार सम्बन्धी समाचार लेख्ने पत्रकारमाथि गरिएको दुर्व्यवहार प्रकरणमा उपमेयर (कार्यवाहक मेयर) अम्बेया खातुनका छोरा मोहम्मद सनाउल्लाहविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।
इलाका प्रहरी कार्यालय विजयपुरको अनुरोधमा जिल्ला अदालत रौतहटले सोमबार सनाउल्लाहलाई पक्राउ गर्न आदेश दिएको प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र यादवले जानकारी दिए । पत्रकार कृष्ण तिवारीमाथि गत साउन ३० गते नगर सभा कार्यक्रममा सहभागी हुन जाने क्रममा सन्तपुर चौक नजिकै रोकेर सनाउल्लाहले दुर्व्यवहार गरेको आरोप छ ।
पीडित तिवारीको जाहेरीपछि रौतहट प्रहरी प्रमुख, प्रहरी निरीक्षक (एसपी) नेत्र मणि गिरीको निर्देशनमा इलाका प्रहरी कार्यालय विजयपुरले अनुसन्धान गर्दै गत आइतबार कार्यवाहक उपमेयर खातुनका छोराविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरेको थियो । घटनापछि उनलाई खोजतलास गरी पक्राउ गर्न छुट्टै प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।
घटनाप्रति प्रेस चौतारी नेपाल रौतहट शाखाले घोर आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ । सचिव मुकेश कुमार साहद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “पत्रकारलाई धम्की र आक्रमण गर्ने व्यक्तिमाथि कडा कानुनी कारबाही नगर्ने हो भने यस्ता घटना पुनः दोहोरिन सक्छन् ।” चौतारीले पत्रकारमाथि अङ्कुश लगाउने, अपशब्द प्रयोग गर्ने र आक्रमण गर्ने प्रयासलाई प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रहार भएको टिप्पणी गरेको छ ।
महालेखा परीक्षकको प्रतिवेदनले नगरपालिकामा इन्धन र यातायात खर्चमा अनियमितता भएको प्रस्ट्याएपछि पत्रकार तिवारीले समाचार लेखेका थिए । तर समाचार सार्वजनिक भएपछि कार्यवाहक मेयर खातुनका छोराले पत्रकारमाथि दुर्व्यवहार गरेको चौतारीको आरोप छ ।
नेपालमा पछिल्ला वर्षहरूमा स्थानीय तहमा भएको भ्रष्टाचार र अनियमितता उजागर गर्ने पत्रकारहरू धम्की, दबाब र आक्रमणमा पर्नु सामान्यजस्तै बनेको भन्दै चौतारीले चिन्ता व्यक्त गरेको छ । विज्ञप्तिमा भनिएको छ, “पत्रकारिता चौथो अङ्ग मात्र नभई लोकतन्त्रको मेरुदण्ड हो भन्ने तथ्यलाई बेवास्ता गर्दै समाचार लेख्ने कर्मीमाथि आक्रमण हुनु लोकतन्त्रकै लागि गम्भीर चुनौती हो ।”
२०७९ सालको स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका गोपाल प्रसाद यादव मेयर र अम्बेया खातुन उपमेयर निर्वाचित भएका थिए । तर यादव विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहरिएपछि खातुन कार्यवाहक मेयर बनेकी थिइन् । त्यसयता उनका श्रीमान् मोहम्मद सेराजको हस्तक्षेपले नगरको सम्पूर्ण कारोबार अस्तव्यस्त भएको भन्दै जनप्रतिनिधिहरू स्वयं गुनासो गर्दै आएका छन् ।


