काठमाडौँ, ०३ भदौ। यातायात व्यवस्था विभागले असोज १ गतेदेखि सबै सवारी साधनमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सवारी धनीहरूलाई निर्देशन दिएको छ ।
मङ्गलवार विभागद्वारा जारी सूचनामा प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयहरूमा सवारी दर्ता, नामसारी, र नवीकरणका क्रममा नियम कडाइका साथ लागू गर्न निर्देशन दिइएको छ ।
विभागको सूचना अनुसार, सवारी धनीहरूले यथाशीघ्र नजिकको यातायात व्यवस्था कार्यालयमा सम्पर्क गरी उच्च सुरक्षा (हाई सेक्युरिटी) विशेषतायुक्त इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्नेछ । व्यवस्था सवारी साधनको पहिचान र सुरक्षालाई थप प्रभावकारी बनाउन लागू गरिएको हो ।
निर्णय गत साउन २०, २०८१ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले गरेको हो । बैठकले असोज १, २०८२ देखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने नीति पारित गरेको थियो । तसर्थ, सवारी दर्ता, नामसारी, वा नवीकरण गराउने सबै सवारी धनीलाई यो नियम पालना गर्न विभागले आग्रह गरेको छ ।
सवारी धनीहरूलाई समयमै कार्यालयमा सम्पर्क गरी इम्बोस्ड नम्बर प्लेट जडान गर्न विभागले जोड दिएको छ ।



