बारा, ०३ भदौ। सशस्त्र प्रहरी बलले बाराको विभिन्न स्थानबाट करिब तीन लाख पच्चीस हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नं. १२ गण बाराका गणपति तथा प्रहरी उपरीक्षक खुमबहादुर केसीका अनुसार मटिअर्वा स्थित प्रस्तावित सीमा सुरक्षा गुल्मले कलैया उपमहानगरपालिका–१० मटिअर्वा सीमा क्षेत्रबाट चिनी, किराना सामानसहित एक मोटरसाइकल बरामद गरेको हो। उक्त सामानको मूल्य करिब १ लाख ३५ हजार ७ सय रुपैयाँ बराबर हुने जनाइएको छ।
त्यस्तै, जितपुरस्थित सुरक्षा वेशले वीरगञ्ज–पथलैया सडकखण्डको नितनपुरमा यात्रुवाहक बसको डिक्कीमा राखिएका लेडिज आइटम अन्दाजी १ लाख ४५ हजार रुपैयाँ बराबर बरामद गरेको छ।
यसैगरी, निजगढस्थित विपद् व्यवस्थापन सुरक्षा वेशले निजगढ नगरपालिका–८ बकैया पुलमा रौतहटबाट हेटौँडा तर्फ जाँदै गरेको यात्रुवाहक बसको डिक्कीमा राखिएका अवैध रेडिमेड कपडा करिब ६० हजार रुपैयाँ बराबर बरामद गरेको जनाएको छ।
बरामद गरिएका सम्पूर्ण सामान आवश्यक कानुनी प्रक्रिया पूरा गर्न वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।


