रौतहट, ०५ भदौ। रौतहटको कटहरिया नगरपालिका–७ बगहीमा श्री कृष्ण जन्माष्टमीको छठियारको अवसरमा आयोजित भव्य मेला महोत्सवको उद्घाटन नगर प्रमुख अजय प्रकाश जैसवालले गरेका छन्।
हजारौं श्रद्धालु भक्तजनहरूको उपस्थितिमा मेला महोत्सवको प्रमुख अतिथि नगर प्रमुख अजय प्रकाश जैसवाल र वडा अध्यक्ष शहिद मियाले संयुक्त रूपमा रिबन काटी उद्घाटन गरेका थिए।
उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख जैसवालले भगवान कृष्णको जीवन, लीलाहरू र भगवद्गीताको महत्वबारे चर्चा गर्नुभयो। उहाँले भन्नुभयो–
“बालबालिकाले भगवान कृष्णका बालकथा मात्र होइन, उनका साहस, माया र धर्मको शिक्षा सिक्न आवश्यक छ। किशोर अवस्थामा उनका लीलाहरू, गोकुल र वृन्दावनका घटनाहरूले जीवनका मूल्य सिकाउँछन्। महाभारतका युद्ध र न्यायका कथाहरूले हामीलाई धर्म, कर्तव्य र जीवनमा धैर्य राख्न प्रेरित गर्छ। भगवद्गीताको ज्ञान आज पनि हाम्रा लागि मार्गदर्शन बनेको छ।”
त्यस्तै, वडा अध्यक्ष शहिद मियाले मेला मेलमिलापको प्रतीक भएको उल्लेख गर्दै सबैलाई सम्बोधन गर्नुभयो–
“यो मेला मेलमिलाप र आपसी सद्भावको प्रतीक हो। कुनै हल्ला वा विवाद नगरी सबैजना शान्तिपूर्वक रहँदै मेला समितिलाई सहयोग गर्नुहोस्। यसरी हाम्रो समाजमा भाईचारा र सहयोगको भावना अझ बलियो बनाउँछ।”
नगर प्रमुख जैसवालले मेला समितिलाई ५० हजार रुपैयाँ नगद सहयोग प्रदान गर्नुभएको थियो, जसले आयोजकहरूलाई व्यवस्थापनमा थप सहजता र उत्साह प्रदान गरेको छ।
महोत्सवमा भगवान कृष्णको झाँकी, भजन–कीर्तन र विविध सांस्कृतिक कार्यक्रम प्रमुख आकर्षण बनेका छन्। महिला, पुरुष र बालबालिकाले उत्साहपूर्वक सहभागी भएर धार्मिक र सांस्कृतिक वातावरणलाई अझ प्रभावकारी बनाएका थिए।
स्थानीय बासिन्दा, समाजसेवी र श्रद्धालु भक्तजनहरूले यस मेला महोत्सवलाई धर्म, संस्कार र परम्पराको संरक्षणमा महत्वपूर्ण कदम भएको भन्दै उच्च प्रशंसा गरेका छन्। आयोजक समितिले पनि सबैको सहयोग र उत्साहप्रति धन्यवाद व्यक्त गरेको छ।


