भदौं ०५ , रौतहट
कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जैसवालले नगरभित्र शिक्षा क्षेत्रमा गुणस्तर सुधारलाई पहिलो प्राथमिकता दिने प्रतिवद्धता जनाउनु भएको छ । प्रमुख जैसवालले बिगत केहि दिनदेखि नगरका विभिन्न वडामा अनुगमन तथा घरदैलो कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन् । यसै क्रममा उहाँले बिहीबार कटहरिया नगरपालिका–५ मा अवस्थित श्री जनता माध्यमिक विद्यालयको अनुगमन गर्नु भएको हो ।
अनुगमनको क्रममा प्रमुख जैसवालले विद्यालयको भौतिक संरचना, पठनपाठन प्रणाली तथा विद्यार्थीलाई प्रत्यक्ष असर पर्ने समस्याहरुलाई नजिकबाट अवलोकन गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोनु यादव र प्रधानाध्यापक सचिन्द्र प्रसाद यादवको उपस्थितिमा सम्पन्न अनुगमन कार्यक्रममा विद्यालयको शैक्षिक अवस्था, आधारभूत आवश्यकता र भावी योजनाबारे विस्तृत छलफल भएको थियो ।
प्रधानाध्यापक यादवले विद्यालयमा रहेका केही कमिकमजोरी तथा विद्यार्थीलाई पठनपाठनमा सहज हुने आवश्यकताहरुबारे नगर प्रमुखलाई जानकारी गराउँदै अतिरिक्त शिक्षक, शौचालय सुधार, प्रयोगशाला उपकरण र कक्षा कोठा व्यवस्थापनमा सहयोग माग गर्नुभएको थियो । सो मागलाई ध्यानपूर्वक सुन्दै नगर प्रमुख जैसवालले नगरपालिकाबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।
अनुगमनका क्रममा प्रमुख जैसवालले विद्यालयका कक्षाकोठा, शौचालय, विज्ञान प्रयोगशाला लगायतका अन्य भौतिक संरचनाको निरीक्षण गर्नुका साथै तत्काल सुधार गर्न सकिने बुँदाहरुलाई सम्बोधन गर्ने आश्वासन दिनुभयो । उहाँले शिक्षा क्षेत्रमा गुणस्तर वृद्धि नगरको प्रमुख लक्ष्य भएको भन्दै, “शिक्षक र विद्यार्थीबीच सम्बन्ध सुमधुर हुनु आवश्यक छ । शिक्षकले आफ्नो दायित्व ईमानदारीपूर्वक निर्वाह गरे मात्र उत्कृष्ट शिक्षा दिन सकिन्छ,” भन्ने धारणा राख्नुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, स्थानीय भद्रभलादमी तथा शिक्षा प्रेमीहरूको समेत उपस्थितिमा छलफल सम्पन्न भएको थियो । अनुगमनपछि नगर प्रमुख जैसवालले सोही वडाका वृद्धवृद्धा, युवाहरु र स्थानीय बासिन्दासँग वडामा सञ्चालन भएका तथा आगामी दिनमा हुने विकास गतिविधिबारे पनि प्रत्यक्ष संवाद गर्नुभएको थियो ।
नगर प्रमुखले शिक्षा, स्वास्थ्य र आधारभूत पूर्वाधारलाई नगरको समग्र विकासको आधारस्तम्भ मान्दै आगामी दिनमा यस्ता क्षेत्रमा अझ बढी लगानी गर्ने बताउनुभएको छ ।


