
काठमाडौं, ०८ भदौ। भारतको बिहार राज्यमा भएको सडक दुर्घटनामा कम्तीमा १० जनाले मृत्यु भएको छ, भने ३ जना गम्भीर घाइते भएका छन्। शनिबार बिहान राजधानी पटनाको दनियावन–हिल्सा राजमार्गमा अटोरिक्सा र ट्रक एकआपसमा ठोक्किँदा सात जनाको घटनास्थलमै मृत्यु भएको हो।
घाइते तीन जनाले अस्पतालमा उपचारको क्रममा प्राण गुमाएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। अटोरिक्सा चालकसहितका यात्रुहरु हताहतमा परेका छन्। मृत्यु हुनेमध्ये नौ जना महिला र एक जना पुरुष रहेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। दुर्घटनामा घाइते तीन जनाको अवस्था भने गम्भीर छ।
दुर्घटनापछि अटोरिक्सा पूर्णरुपमा क्षतिग्रस्त भएको छ। प्रारम्भिक अनुसन्धानमा ट्रक चालकको लापरबाही नै दुर्घटनाको कारण भएको आशंका गरिएको छ। ट्रक चालक भने घटनापछि फरार रहेको र उनको खोजीमा प्रहरी परिचालन गरिएको अधिकारीहरूले बताएका छन्। प्रहरीले मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको छ।
